डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ३५ करोड ४९ लाख १४ हजारको बजेट ल्याएको छ। आइतबार १६औं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष ज्ञानु सेटी देउवाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेकी हुन्।
जसमध्ये चालुतर्फ २३ करोड ८७ लाख ३६ हजार १ सय र पुँजीगततर्फ ११ करोड ६१ लाख ७१ हजार विनियोजन गरिएको उनले बताइन्। गाउँपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ७ करोड ७२ लाख , वित्तीय समानीकरण प्रदेशबाट ५८ लाख ७८ हजार, राजश्व बाँडफाँड संघबाट ७ करोड ५५ लाख ३३ हजार १ सय र प्रदेशबाट १७ लाख ५३ हजार प्राप्त हुने अनुमान गरेको छ।
यस्तै सशर्त अनुदान संघबाट १६ करोड ९९ लाख र प्रदेशबाट ७९ लाख ५० हजार, विशेष अनुदान संघबाट ७० लाख, समपूरक अनुदान संघबाट ५० लाख र आन्तरिक आयबाट ४७ लाख संकलन हुने अनुमान गरिएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ३८ करोड ३ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो। चालु आवभन्दा आगामी आर्थिक वर्षमा गाउँपालिकाले २ करोड ५४ लाख रुपैयाँ कम बजेट ल्याएको हो। शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले बजेट ल्याएको अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए।
यो पनि पढ्नुहोस् :
अजयमेरु गाउँपालिकाको बजेट ४५ करोड ३९ लाख
आलिताल गाउँपालिकाले ल्यायो ४३ करोड ३ लाखको बजेट