Radio Unity 92.2MHz

६ महिनामा डडेल्धुरामा २२ वटा मानव अधिकार उल्लङ्घनका घटना घटे

डडेल्धुरा: डडेल्धुरामा मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार जिल्ला सदरमुकाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), डडेल्धुराको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीले जनवरी २०२३ देखि जुनसम्मको अवधिमा जिल्लामा २२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क समीक्षा कार्यक्रममा प्रस्तुत गरेका थिए।

इन्सेक प्रतिनिधि भण्डारीकाअनुसार जिल्लामा घरेलु हिंसाका घटना अधिक रहेका छन्। जसमा १९ वटा घरेलु हिंसा, दुई वटा महिला हिंसा र एउटा हत्याको घटना रहेका छन्।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले इन्सेकले संकलन गरेका घटनाहरू प्रति सकारात्मक धारणा रखे।

उनले भने, ‘समाजमा अझैं मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटिरहेका हुन्छन्। त्यस्ता घटनाको स्थलगत र तथ्यमा आधारित भएर घटना सङ्कलन गर्न आवश्यक छ।’

विगतदेखि नै इन्सेकले मानवअधिकारका क्षेत्रमा अमूल्य भूमिका खेलेको भन्दै उहाँले अझैं थप परिस्कृत भएर अगाडि बढ्नु पर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत सिंहले बाँच्न पाउने अधिकार तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सहज पहुँचबाट दलित तथा विपन्न समुदाय वञ्चित रहेकोले त्यसतर्फ इन्सेकले ध्यान दिनुपर्नेमा जोड दिए।

उनले जिल्लाको परशुराम नगरपालिकामा रहेका लोपोन्मुख जाती राउटेका घर वर्षौदेखि निर्माणाधिन रहेको बताए। सामाजिक अभियन्ता सुनिता गैरेले समाजमा जातीय छुवाछुत अन्त्य नभएको र यसमा सरोकारवाला सबैले एकजुट हुनुपर्नेमा जोड दिइन्

अधिवक्ता बिष्णु भट्टले मानव अधिकार मानव जिवनसँग जोडिएकोले सरोकारवाला सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए।

‘इन्सेकले मानव अधिकारको क्षेत्रमा वकालत गर्दै आएको छ। केही सुधारका संकेत समेत देखिएका छन्,’ उनले भने, ‘तर, प्लेन दुर्घटना हुँदा मानवअधिकार आयोग गठन हुन्छ। बस अर्थात् जीप दुर्घटना हुँदा हुँदैन्। त्यसैले यसतर्फ समेत ध्यान जानु आवश्यक छ।’

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।