अमरगढी–४ को किर्ते काण्डमा नयाँ ट्वीस्ट : आर्थिक प्रलोभनमा हस्ताक्षरलाई आफ्नै भन्न लगाउँदै मेयर र हाकिम!
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–४ को किर्ते काण्डमा नयाँ ट्वीस्ट बाहिरिएको छ।
वडाध्यक्ष प्रमानन्द साहु र वडासचिव केशव ओझा किर्ते हस्ताक्षर काण्डमा फस्न थालेपछि अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय उनीहरूको बचाउमा लागेका छन्।
किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको भन्दै बुधबार ५ जना स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर कारबाहीको माग गरेका थिए।
तर, युनिटी खबरलाई प्राप्त सूचना अनुसार मेयर जोशी र प्रमुख प्रशासकीय उपाध्यायले पाँचै जनालाई नगरपालिकामा बोलाई आर्थिक प्रलोभन देखाएर आफूले नै हस्ताक्षर गरेको भनि जिल्ला प्रशासन कार्यालयमा उजुरी फिर्ता दिन लगाएका छन्।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले हिजो उजुरी दिएका पाँचै जनाले आवश्यक कारबाही रोकीदिन भनि आज पनि उजुरी दिएको जानकारी दिए।
‘हिजो उजुरी परेपछि नगरपालिकालाई आवश्यक कारबाहीका लागि खबर गरेका थियौं। आज फेरी आवश्यक मनमुटाबका कारण उजुरी दिएको । तर, आफैले हस्ताक्षर गरेको भनि कारबाही रोक्न निवेदन दिएका छन्’, उनले भने।
यसबारे बुझ्न खोज्दा अमरगढीका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले सामान्य विषय भएको भन्दै बोल्न मानेनन्।
यो पनि पढ्नुहोस् :
अमरगढीमा वडाअध्यक्ष र वडासचिवको किर्ते हस्ताक्षर : मेयर भन्छन्– बुझ्दै छु