डडेल्धुराः अमरगढी नगरपालिका र मालम गाउँबासीबीच दुई बुँदे सहमति भएको छ। आफ्नो घरजाने सडक छेउमै नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै अमरगढी–१ मालम गाउँबासीले आन्दोलित बनेका थिए। फोहोर व्यवस्थापन सम्बन्धमा आन्दोलनरत पक्ष र अमरगढी नगरपालिकाबीच सोमबार बेलुका सहमति भएको हो।
फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको प्रस्ताव तत्काल स्वीकृतका लागि पहल गरी यथासक्य छिटो उक्त फोहोर व्यवस्थापन पर्ने सहमति बनेको छ।
यस्तै, हाल अमरगढी नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि प्रयोग गरिरहेको स्थानलाई थप व्यवस्थापन गरी उक्त फोहोरका कारण आसपासका क्षेत्रका बासिन्दालाई थप नहुने र आजकै मितिले तीन महिनाभित्र नगरपालिकाले थालनी गरी वैकल्पिक व्यवस्थापन गर्ने दुवै पक्षबीच सहमति भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए।
आइतबार ज्ञापनपत्रमार्फत् नगरपालिकाको ध्यानाकर्षण गराएपनि नगरप्रमुख डिल्लीराज जोशीले कुनै चासो नदेखाएको भन्दै सोमबार बिहानैदेखि मालमबासी नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रिएका थिए। बिहान बसपार्कबाट जुलुस निकालेर उनीहरूले नगरपालिका घेराउ गरेका थिए।
फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको नगरपालिकाले अहिले पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ। सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको छ।
दुई बुँदे सहमति
मालमबासीले गरे अमरगढी घेराउ : मेयर भन्छन्–आतंककारीसँग कुरा गर्दैन