डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–६ छचोडाकी जानकीदेवी ताम्राकार मृत्यु प्रकरणमा पूर्ण अनुसन्धान नभएको गुनासो गरिएको छ। जानकीका श्रीमान् विपेश ताम्राकारले बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै अनुसन्धान पूर्ण नभएको गुनासो गरेका हुन्।
अन्दाजी ३६ वर्षीया जानकीदेवी गत वर्षको भदौ १७ गते जिल्ला सदरमुकामसँगै रहेको ऋषिखोला वनमा मृत भेटिएकी थिइन्। भदौ १३ गते साँझबाट बेपत्ता भएकी उनी वनमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
जानकी मृत्यु प्रकरणमा प्रहरीले प्रमाण नष्ट गर्ने काम गरेको पीडितपक्षको आरोप छ। विपेश र जानकी श्रीमान्–श्रीमती दुवै तुफानडाँडामा भाँडाकुँडा पसल चलाउँदै आएका थिए। त्यसक्रममा जानकी र एकजना व्यापारीबीच अनैतिक सम्बन्ध रहेको श्रीमान् विपेशले थाहा पाए। तर ती व्यापारी र जानकीको अनैतिक सम्बन्ध चलिरह्यो।
यसका साथै ती व्यापारीसँग आफ्नो मायाप्रेम रहेको श्रीमानलाई जानकारी दिइन्। प्रेमीसँग जान्छु भनेर हिँडेकी उनी मृत अवस्थामा फेला पर्नुमा उनको प्रेमी नै संलग्न रहेको भनी परिवारले किटानी जाहेरी दिए।
ती व्यापारीका कारण जानकी मर्न बाध्य भएको भन्दै उनका श्रीमानले प्रहरीमा किटानी जाहेरी दिए। प्रहरीले अनुसन्धान गर्यो। तर प्रहरीले अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने काम गरेको विपेशको आरोप छ। उनले प्रहरीले सिसीटीभी फुटेज अदालतमा पेस नगरेको आरोप पनि लगाए।
‘मेरो श्रीमतीको मृत्यु प्रकरणमा प्रहरीले प्रमाण नष्ट गर्ने काम गरेको छ। पूर्ण अनुसन्धान भएन’, उनले पत्रकार सम्मेलनमा भने, ‘सिसीटीभी फुटेज प्रहरीले लुकायो। हामी गरिबलाई न्याय मिलेन।’
जिल्ला अदालत डडेल्धुराले गरेको फैसला चित्त बुझ्दो नभएको भन्दै पीडितपक्ष अहिले आन्दोलनमा छ। उनीहरूले बिहीबार तुफानडाँडामा टाउकोमा कालोपट्टी बाँधेर शान्तिपूर्ण आन्दोलन गरेका छन्।
उनीहरूले ‘प्रमाणहरू कहाँ लुकाइयो?, अनुसन्धानकर्तालाई कारबाही गर, पीडितलाई न्याय दे’ लेखिएका प्लेकार्ड बोकेर तुफानडाँडा चोकमा शान्तिपूर्ण आन्दोलन गरेका हुन्।
सम्बन्धित समाचार : डडेल्धुरामा एक महिला मृत फेला