डडेल्धुरा: डडेल्धुरा सरदुमकाममा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराको आयोजनामा जिल्लाका राजनीतिक दल, पत्रकार र विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको हो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महाकाली ब्यूरो इन्चार्ज समर सिले एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न अवधारणा पत्र प्रस्तुुत गरेका थिए।
उनले अवधारणा पत्र प्रस्तुत गर्दै एमसीसीको विरुद्धमा मोर्चा बनाएर आफूहरू अगाडि बढेको बताए। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य उमा सी (शिलु)ले एमसीसी सम्झौता खारेज गर्नुको विकल्प नभएको बताइन्।
उनले नेपालको राष्ट्रिय स्वाधिनताको विरुद्ध रहेको अमेरिकी सहयोग एमसीसी केबल अनुदान मात्र नभएर सैन्य रणनीति पनि रहेको प्रस्ट्याउँदै यसको खारेजीको माग गरेकी छन्।
उनले नेपालको कानुन भन्दा माथि हुने, परियोजनाको लेखा परीक्षण नेपालले गर्न नपाउने, एमसीसीका कुनै कर्मचारीले अपराधिक क्रियाकलाप गरेमा तिनलाई नेपालमा कुनै किसिमको कारबाही गर्न नपाउनेलगायतका अन्य विवादस्पद र राष्ट्रको हित विरोधी प्रावधानले नै राष्ट्रघाती रहेको आफ्नो पार्टीको निष्कर्ष रहेको बताइन्।
नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका जिल्ला इन्चार्ज विजय सिको अध्यक्षमा भएको अन्तरक्रियामा बोल्ने वक्तहरूले एमसीसी देशको अहितमा रहको तर्क गरेका थिए।