डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा निःशुल्क विशेषज्ञ मुटुरोग परीक्षण शिविर सम्पन्न भएको छ।
शनिबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोग र अमरगढी नगरपालिकाको आयोजनामा एकदिने मुटु परीक्षण शिविर सम्पन्न भएको हो।
अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माविमा सञ्चालन भएको शिविरमा ५ सय ७० जनाले सेवा लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर ऐरले जानकारी दिए।
उनका अनुसार ३ सय ७० जनाले निःशुल्क मुटुको भिडिओ एक्सरे (इको) र २ सय जनाले निःशुल्क इसिजी सेवा लिएका छन्। शिविरमा आएका मुटुसम्बन्धी रोग भएका ७ जनालाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र रेफर गरिएको जनस्वास्थ्य निरीक्षक ऐरले बताए।
शिविर सम्पन्न गर्न डडेल्धुरा अस्पताल, महेन्द्र मावि र नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि सहयोग गरेको थियो।