Radio Unity 92.2MHz

सहकारी ठगी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुन्छ : देउवा

डडेल्धुरा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारी ठगीमा संलग्नलाई कारबाही हुने बताएका हुन्।

‘हाम्रो पजि जोसुकै साथी पक्रियोस्, कारबाही होस् छुटाउनुपर्छ भन्दै भन्दैनौँ,’ सभापति देउवाले भने, ‘दोषी छ भने कारबाहीको भागेदार हुनुपर्छ, आफ्नो बचाउने कुरा हुँदैन।’ उनले सहकारीपीडितको रकम फिर्ताका लागि पनि सरकारले काम गरिरहेको दाबी गरे।

सभापति देउवाले संविधान संशोधनका लागि वर्तमान सत्ता गठबन्धन तयार रहेको पनि बताए। राष्ट्रका लागि फाइदा हुने कुराका लागि अन्य दलहरूलाई पनि सहभागिता गराएर संविधान संशोधन गरिने उनको भनाइ छ।

देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको पनि दाबी गरे। ‘सुरुको दुई वर्ष एमाले र त्यसपछि काँग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति छ,’ उनले भने, ‘सोही सहमतिअनुसार सरकार अगाडि बढ्छ।’

सभापति देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्छु भनेर यसअघि आफूले आवासन नदिएको बताए। उनले डडेल्धुराको भित्रीमधेस क्षेत्रमा महाकाली नदीमाथि पक्की पुल पनि बन्ने बताए। भारतका प्रधानमन्त्रीले पुल निर्माणका लागि आश्वासन दिएको भन्दै उनले पुल निर्माण हुने उनको भनाइ थियो।

सम्बन्धित पाेष्टहरु
Loading...