डडेल्धुरा: डडेल्धुरा जेसीज वर्ष २०२४ ले शनिवार उग्रतारा मेला (देहीजाँत) मा सहभागी दशनार्थी तथा भक्तजनहरूलाई निःशुल्क खानेपानी वितरण गरेको छ।
डडेल्धुरा जेसीज वर्षले यही मंसिर १ देखि ७ गतेसम्म आयोजना गरिएको जेसीज सप्ताह कार्यक्रमको पहिलोदिन शनिबार उग्रतारा मेलाका भक्तजनहरुलाई निुःशल्क खानेपानी वितरण गरिएको हो।
देहीजाँतको दर्शन गर्न डडेल्धुरा आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्र मन्त्री डा. आरजु देउवा राणालाई डडेल्धुरा जेसीज वर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरले मायाको चिनो प्रदान गरेकी थिइन्।
डडेल्धुरा जेसीज वर्ष २०२४ की अध्यक्ष ऐरको अध्यक्षतामा उद्घाटन गरिएको निःशुल्क खानेपानी वितरण कार्यक्रममा डडेल्धुरा जेसीजका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले नवदुर्गा गाँउपालिका–१ का ८२ वर्षीय नवलसिंह ऐरलाई पानीको बोतल प्रदान गरेर उद्घाटन गरेका थिए।
कार्यक्रममा हिमाल रोजिन एण्ड जडीबुटी प्रशोधन केन्द्र कैलाली, कैलपाल अफसेट प्रेस डडेल्धुरा र अमरगढी मिडिया हाउस डडेल्धुराले सहयोग गरिएको डडेल्धुरा जेसीजले जनाएको छ। मेला भर्न आएका दर्शनार्थीलाई सय पेटी पानी वितरण गरेको अध्यक्ष ऐरले बताइन्।
जेसीज सप्ताहअन्तर्गत मंसिर २ गते उग्रतारा मन्दिरमा सरसफाइ, ३ गते स्लो मोटरसाइकल रेस प्रतियोगिता, ४ गते विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण र मंसिर ५ देखि ७ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।