डडेल्धुरा: डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुुँदा दुई महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो ३ः५० बजेतिर परशुराम नगरपालिका–९ नौलास्थित दैजी–जोगबुढामा जिप दुर्घटना भएको हो।
परशुराम नगरपालिका–११ एक्लेगडाका २१ वर्षीय भुपाल कुँवरले चलाएको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुको दैजीबाट जोगबुढातर्फ आउँदै थियो। जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यायल डडेल्धुराले जनाएको छ।
जिपमा चालकसहित १२ जना सवारमध्ये दुई महिलाको घटनास्थलमै मृत्यु भएको र ९ जना घाइते भएको जिप्रका डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए। उनका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी छ।
घाइतेहरूलाई उपचारको लागि जोगबुढा अस्पतालको दुईवटा एम्बुलेन्सद्वारा कञ्चनपुरतर्फ पठाएको प्रहरी निरीक्षक विष्टले बताए। चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।