डडेल्धुराः डडेल्धुरामा ‘स्लो मोटरसाइकल रेस’ प्रतियोगिता गरिएको छ। डडेल्धुरा जेसीज वर्ष २०२४ ले मोटरसाइकल कम गतिमा चलाउँदा दुर्घटनाबाट बच्न सकिन्छ भन्ने सन्देश दिनको लागि उक्त प्रतियोगिता आयोजना गरिएको हो।
जेसीज सप्ताहअन्तर्गत मंगलबार अमरगढी नगरपालिका–४ मा रहेका टुँडिखेलमा सम्पन्न प्रतियोगितामा खेमराज अवस्थी प्रथम, दीपेन्द्र श्रेष्ठ द्वितीय र निराज रावल तृतीय भएका छन्।
पछिल्लो समय बढ्दो मोटरसाइकल दुर्घटनालाई न्यूनीकरण गर्ने उदेश्यले ‘स्लो मोटरसाइकल रेस’ प्रतियोगिता आयोजना गरिएको डडेल्धुरा जेसीज वर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरले बताइन्।
प्रतियोगिताको अमरगढी नगरपालिका–४ का वडाध्यक्ष प्रमानन्द साहुले उद्घाटन गरेका थिए। प्रतियोगितामा जिल्लाका २७ जना बाइक चालक सहभागी थिए। जसले ढिलो लाइन क्रस गर्छ उनै विजेता हुने नियम थियो।
जेसीज सप्ताहअन्तर्गत मंसिर ५ देखि ७ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। प्रतियोगिता डडेल्धुरा बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालने हुनेछ।