Radio Unity 92.2MHz

डडेल्धुरामा खुल्ला पुरुष भलिबल सुरु, जिवीएल हार्डवेयरको विजयी सुरुवात

डडेल्धुरा: डडेल्धुरामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। डडेल्धुरा जेसीज वर्ष २०२४ को आयोजना तथा अजयमेरु गाउँपालिकाको मुख्य प्रायोजनमा बुधबारदेखि पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासंघ कोषाध्यक्ष तथा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले खेलाडी देशमै जोगाउन चुनौतीपूर्ण रहेको बताए।

‘खेलाडीहरूलाई हामीहरूले देशमै टिकाउन सकिरहेका छैनौं। उनीहरूलाई हामीले यहाँ खेल्ने र जीवन चलाउनसक्ने वातावरण बनाइदिनुपर्छ,’ उनले भने, ‘खेलकुदमा राजनीति गर्नु हुँदैन। खेलकुद र शैक्षिक संस्थालाई व्यवस्थित गर्नुपर्ने हुन्छ।’

डडेल्धुरा जेसीजले देशको राष्ट्रिय खेल आयोजना गरेकोमा धन्यवाद दिँदै उनले खेलाडीलाई उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गरे। उनले भने, ‘खेलाडीलाई खेल क्षेत्रमा अगाडि बढ्ने हौसला दिउँ। पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने हुन्छ।’

प्रदेश सरकारले जिल्लामा प्रत्येक खेलका प्रशिक्षक राख्नुपर्ने बताए। ‘हामीले हाम्रो पालिकामा ९ जना खेलकुद प्रशिक्षक राखेका छौँ। प्रदेश सरकारले यहाँका सबै जिल्लामा खेल प्रशिक्षक राख्नुपर्दछ,’ अध्यक्ष भट्टले भने।

नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले यहाँका खेलाडीहरूलाई अब्बल बनाउन यस्ता किसिम प्रतियोगिता हुन आवश्यक रहेको बताए। उनले सामाजिक र युवाका क्षेत्रमा जेसीजले महत्त्वपूर्ण काम गरेको बताए।

डडेल्धुरा जेसीज वर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरले युवाहरूमा सकारात्मक सोच ल्याउनका लागि प्रतियोगिता आयोजना गरिएको बताइन्। सभ्य र अनुशासित भएर खेल खेल्न सबै खेलाडीलाई आग्रह गरिन्। डडेल्धुरा बहुमुखी क्याम्पसको प्राङ्गणमा भइरहेको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा जिवीएल हार्डवेयर प्रालि डडेल्धुराले अजयमेरु गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार २५ हजार ५ सय २५ र तृतीय पुरस्कार १५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जेसीज डडेल्धुराले जनाएको छ।

जेसीज सप्ताहअन्तर्गत आयोजित प्रतियोगिता मंसिर ७ गतेसम्म चल्नेछ।

सम्बन्धित पाेष्टहरु
Loading...