डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा सञ्चालित डडेल्धुरा अस्पतालप्रति गुनासा बढेका छन्। जिल्लास्थित सरोकारवालाहरूले अस्पतालले प्रदान गर्ने सेवाहरूप्रति गुनासो व्यक्त गरेका हुन्।
सोमबार अस्पतालले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाहरूले अस्पतालको सेवाप्रति गुनासाहरू पोखे। उनीहरूले अस्पतालको सेवासँगै व्यवस्थापकीय र प्रशासनिक पक्षमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिक्मतबहादुर सिंहले अस्पतालले सेवा आफ्ना सेवाहरू विस्तारमा ध्यानदिनुपर्ने बताए। ‘अस्पतालमा अहिले जनशक्ति बढेको छ। अझैँ यहाँ बस्ने खालका डाक्टरहरू ल्याउनुपर्छ,’ उनले भने, ‘तीनचार महिनामा समीक्षा गरौँ। प्रत्येक महिना पत्रकार सम्मेलन गरौँ। कर्मचारी परिचालनमा कडाइ गरौँ।’
यसका साथै अध्यक्ष सिंहले अस्पताल प्रशासनले आर्थिक पारदर्शिता गर्नुपर्ने र समीक्षा कार्यक्रममा कहाँ कति वर्षभयो त्यसको विवरण पनि प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेशप्रसाद जोशीले टिकट काउन्टर, ओपिडी, इमर्जेन्सी र ल्याब व्यवस्थापनमा ठूलो कमजोरी रहेको बताए। ल्याबको रिपोर्टमा फरक पर्ने गरेको जनगुनासो बढिरहेको उनले बताए। कमीकमजोरीलाई सच्याएर अघि बढ्न उनले अस्पताल व्यवस्थापन र प्रशासनलाई सुझाव दिए।
डडेल्धुरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपक महताले सबै मिलेर विशेषज्ञ चिकित्सक ल्याउन पहल गर्नुपर्ने बताए। उपकरण र दक्ष जनशक्ति पदपूर्तिमा सबैले लाग्नुपर्नेमा जोड दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष राजेन्द्र भण्डारीले अस्पतालको आईसियू वार्ड आफैं बिरामी परेको बताए। ‘आईसियू वार्ड भएको ठाउँमा चिस्यान छ। त्यहाँ राम्रै मान्छे पनि बिरामी हुने अवस्था छ। सरसफाइ पनि छैन,’ उनले भने। एक महिनादेखि अस्पतालको निरीक्षण गरिरहेको उल्लेख गर्दै उनले अस्पतालको व्यवस्थापकीय पक्ष सुधार गर्न सातदिने अल्टिमेटम दिए।
नेकपा (एकीकृत समाजवादी)का जिल्ला कमिटी सचिवालय सदस्य डम्बर साउँदले अस्पतालले करोडौंका मेसिनहरू खरिद गर्ने र थन्क्याउने गरेको आरोप लगाए। उनले सरकारी पैसाको दुरुपयोग नगर्न पनि आग्रह गरे। ‘अस्पतालले करोडौंका मेसिनहरू किन्छ। तर जनशक्ति अभावमा ती मेसिनहरू केही समयमै थन्किएर बिग्रिन्छन्,’ उनले भने, ‘त्यसैले यस्तो काम आगामी दिनमा नहोस्।’
नेकपा माओवादी केन्द्रका अमरगढीका अध्यक्ष तुलाराम सार्कीले अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो गरे। उनले भौतिक सुधारले मात्रै नहुने भएकाले अस्पतालको सेवालाई पनि सुधार गर्न आवश्यक रहेको औंल्याए।
नेकपा (एमाले)का जिल्ला सचिव सिद्धराज भट्टले अस्पतालको व्यवस्थापकीय र प्रशासनिक पक्षमा सुधार गर्नुपर्ने औँल्याए। डाक्टर ल्यानका लागि आफ्नो पार्टीले प्रधानमन्त्रीसँग कुरा गर्ने प्रतिबद्धतासमेत जनाए।
नेपाली काँग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले सर्वदलीय बैठक राखेर विशेषज्ञ चिकित्सक यहाँ ल्याउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए। ‘हामी सबै मिलेर यहाँ डाक्टर ल्याउनका लागि पहल गरौँ,’ उनले भने, ‘केन्द्रमा गएर नेताहरू र मन्त्रालयलाई भनेर जसरी भएपनि डाक्टर ल्याऔँ।’
कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले अस्पतालको सेवा निरन्तर सुधार हुँदै गएको बताए। अस्पतालका लागि आफूले माथिल्लो निकाससँग समन्वय र सहकार्य गरिरहेको जानकारी गराए।
अस्पतालको बजेट खर्च स्थिति सन्तोषजनक नरहेको पाइएको उनले बताए। प्रजिअ न्यौपानेले ल्याबको रिपोर्टमा फरक परेको गुनासो आइरहेको र त्यसलाई सुधार गर्न निर्देशन दिए। अस्पतालबाट धेरै बिरामीहरू धनगढी रिफर भइरहेका उल्लेख गर्दै उनले त्यसलाई घटाउन अनुरोध गरे।
अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सरोकारवालाहरूका सुझावलाई अनुसरण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। आगामी दिनमा यस्तै सुझाव र सल्लाहको अपेक्षा राखेको बताए। यहाँ आएका चिकित्सकलाई टिकाउने वातावरण मिलाइरहेको उनको भनाइ छ। अध्यक्ष ओझाले दरबन्दीअनुसार चिकित्सक ल्याउन निरन्तर पहल गरिरहेको दाबी गरे।
कार्यक्रममा अस्पतालका प्रमुख डा. नरेन्द्रकुमार खनालले आर्थिक वर्ष २०८०/८१ मा अस्पतालबाट प्रवाह भएका सेवाकोबारे प्रस्तुतीकरण राखेका थिए। हालै मात्रै अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेका डा खनालले सेवा सुधारमा ध्यान दिइरहेको बताए। एक सय शय्याको अस्पतालमा दरबन्दीअनुसारका कर्मचारीहरू अझैं पदपूर्ति हुन सकेका छैनन्। १०९ जनाको स्थायी स्वीकृत दरबन्दी रहेको अस्पतालमा हाल ६४ जना कार्यरत छन्।
२०७० सालमा टिम अस्पताल र जिल्ला अस्पताल मिलाएर उपक्षेत्रीय अस्पताल घोषणा गरिएको यस अस्पताललाई ०७५ सालमा फेरि नाम परिवर्तन गर्दै संघीय सरकारले डडेल्धुरा अस्पताल राखेको थियो।