डडेल्धुराः डडेल्धुरामा १० दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ।
‘उद्यम गरौँ ,स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको उक्त तालिम आज बिहीबार समापन भएको हो। पुस १६ देखि २५ पुससम्म सञ्चालित तालिममा अमरगढी नगरपालिका , गन्याधुरा, अजयमेरु र नवदुर्गा गाउँपालिकाका २० जनाको सहभागी रहेको थियो।
तालिमले व्यवसायिक सीप विकास गर्दै स्थानीय युवा तथा विपन्न वर्गहरूलाई स्वरोजगारका अवसरबारे जानकारी दिने उद्देश्य राखिएको घरेलु कार्यालयका प्रमुख केशवबहादुर भण्डारी बताए। सहभागीहरूले तालिमबाट निकै महत्वपूर्ण सीपहरू सिकेको बताउँदै आगामी दिनमा सिकाइलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
रोजगारी सृजनामार्फत दीगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम सञ्चालन गरिएको समेत उनको भनाइ छ। तालिमको मुख्य प्रशिक्षकको रूपमा जोगराज ऐर र किशोर कैनी रहेका थिए।