डडेल्धुराः नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ डडेल्धुरा आउने भएका छन्।
फागुन ४ गतेदेखि परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) को उद्घाटन गर्न उनी डडेल्धुरा आउन लागेका हुन्।
नारायणकाजीले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिंह माल (डायमण्ड)ले जानकारी दिए। उनकाअनुसार कार्यक्रममा कलाकारहरू छत्र शाही, काँजल जोशी, विपना सिंह, शंकर मल्ल ठकुरी, सीता पुजारा, रमेश मल्ल, महन्द्र राम पार्की मोडेल डान्सर पुष्पा बोहरालगायतको पनि प्रस्तुति रहने छ।
वार्षिकोत्सवका अवसरमा विद्यालयले सर्वाधिक धनराशिको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ। पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले तीन लाख रुयैयाँ प्राप्त गर्नेछ।
उपविजेताले एक लाख ५१ हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क सात हजार पाँच सय राखिएको छ।
खुल्ला महिला भलिबलतर्फ प्रथम हुने टिमले एक लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीय हुने टिमले ५० हजार रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क चार हजार तोकिएको छ।