डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले वनमा आगो नलगाउन अनुरोध गरेको छ। गाउँपालिकाले बुधवार एक सूचना जारी गर्दैै वनमा आगो नलगाउन आग्रह गरेको हो।
हावाहुरी चल्ने मौसम सुरु भएसँगै वनजंगलहरूमा आगलागीका घटना भइरहेका छन्। आगलागीको उच्च जोखिम रहेको तथा आगलागी हुने सलाई एवं लाइटरलगायतका सामानहरू बालवालिकाबाट टाढा राख्न, प्रज्वलनशील पदार्थहरू सुरक्षित रूपमा राख्न, आगोको प्रयोग गर्दा उच्च सावधानी अपनाउन गाउँपालिकाले सबैमा अनुरोध गरेको छ।
सानो असावधानीका कारण बनजंगलमा भएको आगलागी नियन्त्रण गर्न नसक्ने गरी डढेलोको रूपमा फैलिन्छ । डढेलोले पर्यावरण लगायत जडिबुटी, काठ दाउरा, कार्बन उत्सर्जन, साना बोटबिरूवा नोक्सान गरी जैविक तथा पर्यावरणीय क्षति बढाउँदै जनजीवनमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पारेको छ।
वनजंगल क्षेत्रमा रहेका खानेपानीका पाइपलाइनमा नोक्सानी पुर्याउनुका साथै वनजंगलमा जोडिएर रहेका नजिकका मानववस्तीहरूमा जनधनको क्षति हुने गर्दछ।
आलिताल गाउँपालिका भित्रका सबै प्रकृतिका वनजंगलमा डढेलो नियन्त्रणका लागि तुरुन्त सम्बन्धित वडा कार्यालय, सव–डिभिजन वन कार्यालयहरू, आलिताल प्रहरी चौकी, गाउँ कार्यपालिकाका जनप्रतिनिधिहरू, सामुदायिक वनका पदाधिकारीहरू र उपभोक्ता एवं स्थानीयवासीहरूलाई सूचना दिनुहुन पनि अनुरोध गरिएको छ।
‘आफ्नो क्षेत्रको पर्यावरण संरक्षण गरी मानवीय अस्तित्वको जगेर्ना गर्नु हामी सबैको दायित्व र कार्य भएकोले आगलागी डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि आम सरोकारवालाहरूले आवश्यक सतर्कता निगरानी बढाउनु हुन साथै घटना हुन गएमा अन्तर निकाय र आम नागरिक बीचमा समन्वय सहकार्य गर्नका लागि आलिताल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सबैमा हार्दिक अनुरोध गर्दछ,’ गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन, २०७६ को दफा ५० को उपदफा (४) मा कसुर गर्नेलाई क्षति भएको विगो असुल गरी तीन वर्षसम्म कैद वा साठी हजार रूपैयासम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख भएकोले कानूनी कारबाहीका लागि सिफारिस गरिने अध्यक्ष पार्कीले बताए।