Radio Unity 92.2MHz

डडेल्धुराको घटालथानमा विशु जाँत सम्पन्न, धामीले खाए बालुवा

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–३ मा अवस्थित घटालथानमा विशु जाँत (मेला) सम्पन्न भएको छ। देवताका धामी कापेर बालुवा खाने विशु जाँत मंगलबार सम्पन्न भएको हो।

सुदूरपश्चिमै प्रसिद्ध शक्तिपीठका रूपमा रहेको घटालथानमा धामीले बालुवा खाने र घडाबाट पानी खाने गरेको प्रत्यक्ष देख्न सकिन्छ। यहाँ हरेक वर्ष वैशाख २ गते घटालजाँत लाग्ने गर्दछ।

डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजन विश जाँतका बेला घटाल बाबाको पूजाआजासँगै विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन्।

धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्छन्। घटाल बाबा एवं घटोत्कचको शक्ति प्रदर्शनका रूपमा देवताका धामीले बालुवा खाने गरेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्णराज बोहराले बताए।

धामी (झाँक्री)हरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०/१२ मुठी जति मुखभरीको बालुवा–पानीसँगै खाने गरेको स्थानीय बताउँछन्। घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ।

यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहीआएको छ। किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।

पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ। मनोकामना पूरा भएपछि बोकाको बली दिने चलन रहीआएको छ। खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना परेपछि पानी पर्ने जनविश्वास छ।

सम्बन्धित पाेष्टहरु
Loading...