Radio Unity 92.2MHz

लोकतन्त्र दिवसका अवसरमा डडेल्धुरमा नागरिक संवाद सम्पन्न

डडेल्धुरा: डडेल्धुरामा १९औँ लोकतन्त्र दिवसका अवसरमा नागरिक संवाद गरिएको छ। ‘लोकतन्त्रको विकल्प लोकतन्त्र’ भन्ने मूल नाराका साथ बिहीबार नागरिक संवाद गरिएको हो।

नागरिक संवादमा बोल्ने वक्ताहरुले लोकतन्त्रले आम नागरिकमा आशा जगाएको बताउदै नागरिकका हक अधिकार स्थापित गर्दै नागरिक सर्वोच्वता कायम भएको बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपमहासचिव किरण थापाले लोकतन्त्रको विकल्प लोकतन्त्र भएकाले लोकतन्त्रको समुन्नत विकासका लागि नागरिक सचेत बन्नुपर्ने बताए।

नागरिक समाजका संस्थाहरुले देशव्यापी रूपमा लोकतन्त्र दिवस मनाइरहेको बताउँदै उनले राजनितिक दलका नेताहरुलाई लोकतन्त्रलाई सही रुपमा डोर्‍याउनका लागि समेत दबाब सिर्जना गर्नुपर्ने उल्लेख गरे।

लोकतन्त्रमा सबैले आफ्ना विचार तथा अभिव्यक्ति राख्ने छुट भएकाले यसको विकल्प नभएको उनको भनाइ थियो। लोकतन्त्रको आयाम भनेको नागरिक स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्याय भएको समेत उनले बताए।

नेपाली कांग्रेसका प्रतिनिधि देवकी भट्टले लोकतन्त्रको सदुपयोग गर्दै परिवर्तनको सुरुवात आफूबाट गुर्नुपर्ने र सचेत नागरिकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले लोकतन्त्रमाथिको प्रहार गलत मानसिकताको उपज भएको बताए।  राजनीतिक रूपमा डाइभिङ गर्ने दलहरुले लोकतन्त्रको सही उपयोग गर्नुपर्ने बताउँदै उनले लोकतन्त्रले जनतामा अधिकारको सञ्चार गरेको धारणा राखे।

नेकपा एकिकृत समाजवादी डडेल्धुराका सचिव भुवन पाठकले राजनीतिक स्थायित्वले लोकतन्त्र बलियो बन्ने बताए। उनले नागरिक समाजको भूमिका र राजनीतिक दलहरुको भूमिका लोकतन्त्रलाई परिस्कृत गर्दै लैजानेमा हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा, गैर सरकारी संस्था महासंघ डडेल्धुरा शाखा र शिक्षा अधिकार अनुगमन समूह नेपालको संयुक्त आयोजनामा नागरिक संवाद गरिएको हो। कार्यक्रममा जिल्लास्थित राजनैतिक दलका प्रमुख प्रतिनिधि, विभिन्न नागरिक समाज संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

लोकतन्त्रपछिको दुई दशकमा राजनीतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा आमूल परिवर्तन भएको छ। यो परिवर्तनको मुख्य जग वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ। तर लोकतन्त्रको उपलब्धि महत्वपूर्ण रहे पनि नागरिकमा निराशा र असन्तुष्टि कायमै छ।

दलहरु नागरिकको समस्या समाधानमा भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लाग्दै आएको छ। तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले विकास र सुशासनमा ध्यान दिँदै अवस्था सुधारको लागि केन्द्रित हुन दलहरुलाई नागरिकले आग्रह गर्दै आएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...