डडेल्धुराः अजयमेरु गाउँपालिकाको पशु विकास शाखाले एकदिने पशु स्वस्थ्य घुम्ती शिविर सेवा सञ्चालन गरेको छ।
शनिबार गाउँपालिकाको वडा नं. ३ र ४ मा पशु स्वास्थ्यसेवा घुम्ती शिविर सञ्चालन गरेको हो। शिविरमा गाई, गोरु, भैँसी, बाख्रा र कुकुरले विभिन्न उपचार सेवा प्राप्त गरेको पशु विकास शाखाले जनाएको छ।
पशु स्वास्थ्य प्रवर्द्धन र किसानको जीवनस्तर सुधारका लागि आयोजित शिविरमा परजीवी नियन्त्रण, प्राथमिक उपचार, सल्लाह सुझाव, खोप तथा रेबीज नियन्त्रणजस्ता सेवाहरू उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।
उनका अनुसार शिविरमार्फत ६१९ वटा पशुमा परजीवी नियन्त्रण, ४५ वटा पशुमा बन्ध्याकरण, ७३४ पशुको प्राथमिक उपचार, ६६ कुकुरमा रेविजविरुद्धको खोप तथा २१४ बाख्रामा पीपीआर रोगविरुद्धको खोप लगाइएको छ।
पशु सेवा विवरणअनुसार बाख्रा ९४५, गाई ७९, गोरु ६५, भैँसी १३२ र कुकुर ६६ वटा रहेका थिए।