डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विकले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको निरीक्षण गरेका छन्।

बुधबार निरीक्षण तथा भ्रमणको सिलसिलामा डीआईजी विकले जिप्रका डडेल्धुराको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिएका हुन्।
जिल्लाको वर्तमान शान्ति, सुरक्षाको अवस्था र चुनौतिका बारेमा कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले डीआईजी विकसमक्ष प्रस्तुतिकरण गरेका थिए।

डीआईजी विकले सबै प्रहरी कर्मचारीलाई मन, वचन र कर्मले सदा समर्पित भई देश र जनताको सर्वोपरी हितलाई उच्च राखि जनताको जीउधनको सुरक्षा, मानव अधिकारको संरक्षण र सम्बर्धन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गरि समाजमा घट्ने विभिन्न प्रवृतिका अपराधिक घटनाहरूलाई न्यूनीकरण गर्दै सभ्य र सुरक्षित समाज निर्माण गर्ने संकल्पलाई सार्थक तुल्याउन प्रहरीले अग्रणी भूमिका निर्वाह गर्न निर्देशन दिए।

यसका साथै उनले जिल्लास्थित राजनीतिक दलका पदाधिकारी, उद्योग वाणिज्य संघ, वुद्धिजिवी, समाजसेवी, पत्रकारहरूसँग अन्तक्रिया पनि गरेका छन्।

यहाँका सरोकारवालाहरूले लागुऔषध नियन्त्रण तथा बढ्दो आत्महत्या न्यूनीकरणतर्फ प्रहरीले ध्यान दिनुपर्ने सुझाव दिएका थिए।