Radio Unity 92.2MHz

डडेल्धुरा आइपुगे अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेता

डडेल्धुरा: मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियानमा भाग लिन नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरू बिहीबार साँझ डडेल्धुरा सदरमुकाम खलंगा आइपुगेका छन्।

जेठ २ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानमा भाग लिन पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यहाँ आएका हुन्।

अध्यक्ष प्रचण्डसहितका नेताहरूलाई बागबजारमा नेताकार्यकर्ताहरूले स्वागत गरेका थिए।  अध्यक्ष प्रचण्डले अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शहीद भीमदत्त पन्तको सालिकमा माल्यार्पण गरे।

शीर्ष नेताहरू बिहीबार डडेल्धुरामा नै बास बसेको सो पार्टीका जिल्ला संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ ले जानकारी दिए। अध्यक्ष प्रचण्डले भोलि बिहानै डडेल्धुुरामा मोनिङ वाक गर्ने र पत्रकार सम्मेलन गर्नेछन्।

त्यसपछि बिहान ११ बजे बैतडीको पाटनबाट अभियान सुरु गर्ने कार्यतालिका छ। शुक्रबारदिउँसो २ बजे डडेल्धुरा सदरमुकामको बसपार्कमा खुल्ला जनसम्वाद कार्यक्रमको आयोजना गरिने जिल्ला संयोजक भट्टले बताए।

वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ देखि १० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियान १० गते कास्की पोखरामा समापन हुनेछ।

    

सम्बन्धित पाेष्टहरु
Loading...