डडेल्धुरा: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अहिले सरकार बनाउने र भत्काउने खेलमा नरहेको दोहोर्याएका छन्।
मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार बिहान डडेल्धुरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूहरू सरकारतिर भन्दा जनतातिर बढी केन्द्रीत भएको बताएका हुन्।
‘हाम्रो ध्यान अहिले सरकार तिर छैन्, जनता तिर छ। चिन्ता सरकार सुशासनमा असफल भयो, गलत बाटो हिँडिरहेको छ, यसमा मात्रै हो,’ उनले भने, जनतामाझ जाने र जनताका पक्षमा ध्यान दिने बेला सरकार भत्काउनेतिर लागिन्न्, उल्टो बाटो हिँडिरहेको सरकारको खबरदारी चाहिँ अवश्यै गरिन्छ।’
सरकार बन्ने र ढल्ने कुराको घटनाक्रम राम्रोसँग बनिनसकेको उनले बताए। अध्यक्ष प्रचण्डले वर्तमान सरकार आफ्ना गलत गर्नेलाई पनि बचाउने र अरुका सामान्य नाम जोडिएका भएपनि विरोधीलाई छानीछानी कारबाही गर्ने पक्षमा देखिएकोले त्यतातिर पनि ध्यान दिइरहेको बताए।
नेपालमा भारत र चीनका नेताहरूको दौडधुपबारे प्रचण्डले सगरमाथा संवाद केन्द्रीय आगमन भएकोले अन्यथा लिन नहुने बताए। ‘सरकारले बोलाइएको हुनाले आएका हुन्, चीनबाट मात्रै होइन्, भारत र अन्य देशबाट पनि धेरैको सहभागिता संवादमा भएको होला, यसलाई अन्यथा लिनु हुँदैन,’ उनले भने, ‘छिमेकी हुनुको नाताले अझ धेरै आका होलान्, त्यसलाई त्यसरी नै बुझौँ।’

वाम एकताबारे पत्रकारले सोधेको प्रश्नमा उनले २०८४ को चुनावसम्म सम्भावना नरहेको बताए। उनले भने, ‘एकताकै लागि प्रयास गरियो, एक पनि भइयो, पार्टी एकीकरण नै गरियो, तर नराम्रोसँग धोका खाइयो, हामीभन्दा बढी जनतालाई धोका भयो, केपीजीसँग मिल्ने चाहना तत्काल सम्भव छैन।’
प्रचण्डले हुलाकी राजमार्ग केन्द्रीय जागरण अभियान असाधारण रूपले सफल भएको बताए। ‘गरिब, मजदुर, मधेसी, थारुसहितका विपन्न समुदायको बसोबास क्षेत्रमा पुगेर जनतासँग जोडिनु माओवादीका लागि ऐतिहासिक सफलता भएको हो,’ उनले भने, ‘अभियानका क्रममा १ करोड बढीसँग प्रत्यक्ष भेटघाट भयो।’
उनले डडेल्धुराबाट शेरबहादुर देउवालाई फोन गरेको र देउवाले स्वागत भनेको बताए। अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग जागरणसँगै मध्यपहाडी लोकमार्गमा हुने अभियानका लागि पनि सकारात्मक मावल तयार भएको बताए।
उनले डडेल्धुरालाई राम्रो जिल्ला र सुन्दर जिल्लाको संज्ञा दिए। ‘मिठो चिसो, यतिराम्रो हावापानी र हरियाली साथै उत्पादनको पनि प्रचुर सम्भावना धेरै राम्रो लाग्यो,’ प्रचण्डले भने।
पहाडको जनसंख्यालाई रोक्न उत्पादन र अवसरका विषयमा राज्यले ध्यान दिनुपर्नेमा उनको जोड थियो। सुदूरपश्चिमलाई माओवादीले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले इन्चार्ज नै सिनियर नेतालाई जिम्मा दिएको, पार्टी सत्ताको अवसरमा पनि सुदूरपश्चिमलाई अनिवार्य स्थान दिने गरेको बताए।

‘माओवादीले सुदूरपश्चिमलाई कति ध्यान दिन्छ, धेरै प्रमाणित कुरा छन्,’ उनले भने, ‘तर पार्टीमा कहिलेकहिँ समस्या जस्तो देखिएपनि त्यो विधिवत् रूपमै टुंगिसेकोले अब अब चाहिँ सुदूरपश्चिमले गति लिन्छ।’
अर्को प्रसंगमा पूूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संक्रमणकालीन न्यायको विषयमा सरकार गम्भीर हुनु पर्ने धारणा राखे। समझदारीको आधारमा, विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै पीडितहरूलाई ध्यानमा राखेर समाधान गरिनुपर्नेमा उनले जोड दिए।
यसक्रममा ठूला दलहरु सुदूरपश्चिम पुगेर लोकप्रिय कार्यक्रम घोषणा गर्ने तर पूर्व पुगेपछि बिर्सिने प्रवृत्ति बढेको भन्दै प्रचण्डलाई विगतका प्रतिबद्धता सम्झाउँदै पूरा नभएको पत्रकारहरुले प्रश्न गरेका थिए ।
जवाफमा प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालय, कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह, कैलालीको गेटामा स्वास्थ्यविज्ञान विश्वविद्यालय बनाउने निर्णय आफ्नै कार्यकालमा भएको तथ्यतोडमोड नगरिदिन आग्रह गरे। ‘सुदूरपश्चिमलाई विकास नगरेसम्म नेपालमा समतामूलक विकास हुन सक्दैन भन्नेमा माओवादी दृढ छ’, प्रचण्डले भने।