Radio Unity 92.2MHz

डडेल्धुरामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा: डडेल्धुरामा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा मंगलबारदेखि सुरु भएको हो। प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै उनले डडेल्धुरा खेलकुदको उर्वर भूमि भएको बताए।

खेलकुदमा भाग लिँदा अनुशासन निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सबै खेलाडीलाई अनुशासनपूर्वक प्रतियोगतामा सहभागी हुन आग्रह गरे।

कार्यक्रममा जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बरबहादुर थापाले अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गरे। टिम गेमको टोली छनोट गर्दा उत्कृष्ट खेलाडीलाई मात्रै छनोट गर्न रेफ्री र अम्पायरलाई उनले निर्देशन दिए। उनले सीमित स्रोतसाधनका बाबजुत प्रतियोगिता सञ्चालन गर्नुपरेको बताए।

टुँडिखेलमा भइरहेको प्रतियोगितामा जिल्ला साता वटै स्थानीय तहको सहभागिता रहेको छ। प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेलहरू खेलाइँदैछ। प्रतियोगिता मंगलबार र बधुबार चल्नेछ।

जिल्लास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...