Radio Unity 92.2MHz

नवदुर्गामा उपआयोजना कार्यान्वयनका समस्या, चुनौती र सिकाइसम्बन्धी अन्तरक्रिया

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकामा स्टार्टअफ ग्रान्ट उपआयोजना कार्यान्वयनमा आइपरेका समस्या, चुनौती र सिकाइसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर (रिड) कार्यालय डडेल्धुराको आयोजनामा उक्त सम्पन्न भएको हो।

कार्यालय प्रमुख पशुपति नाथको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी र विशिष्ट अतिथि उपाध्यक्ष निर्मला बोगटी विष्ट रहेकी थिइन्।

रिडको उपआयोजनाअन्तर्गत नवदुर्गा गाउँपालिका-२ मा बाख्रा उद्यम लागू गरिएको छ। नवदुर्गा-२ ढिलेली गाउँका १६ जना किसान मिलेर भैरव बाख्रापालन कृषि समूह गठन गरी ५० प्रतिशत अनुदानमा बाख्रा उद्यम गरेका छन्।

आयोजनाको कुल लागत १० लाख ५३ हजार ५०१ रुपैयाँ रहेको कार्यालय प्रमुख नाथले जानकारी दिए। उनका अनुसार जसमा आयोजनाबाट रु ५ लाख १ हजार ४४४ र लाभग्राही योगदान ५ लाख ४७ हजार ३३३ रुपैयाँ रहेको छ।

उपआयोजनाबाट बाख्राको खोर मर्मत तथा सुधार, घाँस खेती, डिपिङ्ग टैंक, टाट्नो निर्माण, बर्डिजो खरिदलगायत कार्य गरिएको भैरव बाख्रापालन कृषि समूहका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले जानकारी दिए।

वास्तविक किसानलाई सहयोग गरेकोमा उनले आयोजना कार्यालयलाई धन्यवाद दिए। उनले शतप्रतिशत अनुदान पाइरहेका किसानहरू ५० प्रतिशत अनुदानमा काम गर्न नरुचाउने गरेको अनुभव सुनाए। आफ्नै देशमा केही गरौँ भन्ने किसानका लागि उपआयोजना निकै राम्रो र फलदायी भएको अध्यक्ष शाहीले बताए।

अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख नाथले पछिल्लो समय कृषिप्रति आकर्षक घट्दै गएको बताए। किसानलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता राखेर काम गरेपछि मात्रै देश समृद्ध बन्ने बाटोमा अघि बढ्ने बताए। उनले गाउँपालिकाले अगुवा कृषकको प्रोफाइल बनाउनुपर्नेमा जोड दिए।

उपाध्यक्ष निर्मला बोगटी विष्टले रिडको किसानका लागि निकै लाभदायक कार्यक्रम भएको बताइन्। उनले कृषि र पशु पालन क्षेत्र स्थानीय तहको प्राथमिकतामा त्यति धेरै नपरेको स्वीकार गरिन्। उनले किसानलाई बढीभन्दा बढीलाई समेट्ने गरि आयोजनालाई काम गर्न आग्रह गरिन्।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोका, नायब सुब्बा पुष्पराज जोशी, कृषि तथा पशुपन्छी शाखा प्रमुख, भैरव बाख्रापालन कृषि समूहका पदाधिकारी तथा सदस्य, पत्रकारलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...