डडेल्धुरा: डडेल्धुराका पहिलो पत्रकार तेजबहादुर भण्डारीको निधन भएको छ। जिल्लामा पहिलोपटक छापा पत्रकारिताको सुरुवात गर्ने भण्डारीको आज (बुधबार) निधन भएको हो।
अमरगढी नगरपालिका–३ घर भएका भण्डारी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बस्दै आएका थिए। भण्डारीले वि.सं. २०४५ सालमा तत्कालीन सगरमाथा संवाद समितिबाट नियुक्ति लिई पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए। डडेल्धुराजस्तो पहाडी जिल्लाबाट रिपोर्टिङ्ग गर्दै उनले जिल्लाको पत्रकारिता हाँकेका थिए।
नियुक्ति पत्र लिएर आधिकारिक रूपमा रासस (तत्कालीन सगरमाथा संवाद समिति) मा डडेल्धुरा जिल्लाबाट रिपोर्टिङ्ग गर्ने भण्डारी डडेल्धुराको पहिलो पत्रकार थिए। जुनसमयमा अहिलेजस्तो सञ्चारको अत्याधुनिक प्रविधिको विकास भएको थिएन।
विद्युतको समस्या तथा यातायातको समस्याका कारण त्यसताका जिल्ला सदरमुकाममा छापाखाना संचालनमा थिएन। टेलिफोन सेवा, फ्याक्स सेवा, इमेल इन्टरनेट निकै टाढाको विषय थियो। दूरसञ्चार संस्थानले डडेल्धुरामा कार्यालय स्थापना गरि आकासवाणी (आवा) सेवा सुचारु गर्यो।
त्यसपछि राससका जिल्ला समाचारदाता भण्डारीले आकासवाणीबाट काठमाडौं समाचार टिपाउने गर्थें। आकासवाणीबाट समाचार पठाउँदा प्रति शब्द ५ पैसा तिर्नु पर्दथ्यो।
दूरसञ्चार संस्थानले अन्यभन्दा राससको समाचार सम्प्रेषणलाई पहिलो प्राथमिकता दिने गथ्र्यो। दूरसञ्चार संस्थानको केन्द्रिय कार्यालयले टिपेको समाचार सामग्री राससको केन्द्रिय कार्यालय सम्म पुग्थ्यो। राससको बुलेटिनमा प्रकाशित समाचार सरकारी सञ्चार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रले साभार गरी प्रकाशन तथा प्रसारण गर्ने गर्थें।
उनले सम्प्रेषण गर्ने समाचार राजनैतिक र सामाजिक क्षेत्र र विकासमूलक हुने गर्थें। समाचारको लेखन शैली पनि परम्परागत नै थियो। आफूले पठाएको समाचार प्रकाशित भए नभएको पढ्नको लागि महिनौं कुर्नु पथ्र्यो। गोरखापत्र हुलाकबाट आउनको लागि महिना दिन भन्दा बढी लाग्थ्यो। जेनतेन उनले २०४८ सालसम्म निरन्तर समाचारदाताको रूपमा काम गरेका थिए। (तेजबहादुर भण्डारीसँग २०७८ मंसिर २० मा गरिएको कुराकानीको आधारमा)।
पछि यातायात तथा सञ्चार प्रविधिको विकाससँगै त्यसको असर पत्रकारिता क्षेत्रमा पनि देखा पर्न थाल्यो। धनगढीदेखि डडेल्धुरासम्म यातायात सन्जालले जोड्ने क्रम सुरु भयो। वि.संं २०४६ साल चैत्रमा भएको जनआन्दोलन १ को बलमा प्रजातन्त्र पुनर्वहाली भयो।
राजनीतिमा आएको परिवर्तनले नागरिकले खुलापन र स्वतन्त्रता महसुस गर्न थाले। विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास सुरु भयो। वि.सं. २०४७ सालमा विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा ग्यारेन्टी गर्दै पहिलो प्रजातान्त्रिक संविधान जारी भयो। वि.सं. २०४६ सालको राजनैतिक परिवर्तनको असर अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा पनि देखा पर्यो।
जिल्लामा छापा पत्रकारिताको सुरुवात २०४७ सालमा भण्डारीले नै गरेका थिए। २०४६ को परिवर्तनपछि प्रजातन्त्रको स्थापनासँगै डडेल्धुरामा छापा पत्रकारिताको सुरुवात भएको थियो। डडेल्धुरामा लेटरप्रेस स्थापना भएपछि २०४७ मा उनले जनमानस पत्रिकाको प्रकाशन सुरु गरेका थिए। जनशक्ति, बजार तथा छपाईको ब्यवस्थापन गर्न नसक्दा उक्त पत्रिका लामो समय टिक्न सकेन।
जनमानस साप्ताहिक २०४७ सालमा प्रकाशित डडेल्धुरा जिल्लाको पहिलो समाचारमुलक पत्रिका हो। वि.सं. २०४७ मा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा दर्ता नं. १ मा दर्ता भएको उक्त पत्रिकाको प्रकाशक/सम्पादक भण्डारी रहेका थिए।
आफ्नो उच्च शिक्षा अध्ययनको क्रममा काठमाडौँमा पत्रपत्रिकामा काम गरिरहेका भण्डारी आफ्नै गृहजिल्ला डडेल्धुरामा पत्रिका प्रकाशन गर्ने सोच राखेर डडेल्धुरा फर्किका थिए। र, डडेल्धुरामा पत्रिका प्रकाशन सुरु गरेका थिए। तत्कालीन समयको राजनीतिक परिवर्तित सन्र्दभमा पत्रिकाको माध्यमबाट सामाजिक, आर्थिक, राजनीतिक विषयवस्तुहरु समेट्दै पत्रिका प्रकाशन भएका थियो।
पत्रिकाले डडेल्धुरा जिल्लाको स्थानीय मुद्दाहरूलाई उठान गर्ने मुख्य उद्देश्य राखेको थियो। आर्थिक अभाव, प्राविधिक कठिनाइका कारण पत्रिकाको प्रकाशन लामो समयसम्म टिक्न सकेन। २०४८ सालमा भण्डारीले पत्रिकाको प्रकाशन कार्य बन्द गरेका थिए।