Radio Unity 92.2MHz

चमडामा १८ भदौदेखि ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने

  • प्रकाश पार्की

डडेल्धुरा: अजयमेरु गाउँपालिका–२ चमडामा ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ। २ नम्बर वडा कार्यालयको आयोजनामा यहीँ भदौ १८ गतेदेखि २१ गतेसम्म वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको हो।

वडा कार्यालयले बुधबार गाउँपालिकाको केन्द्र भद्रपुरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो। ऐतिहासिक पर्यटकीय स्थल अजयमेरु कोटलगायत अन्य धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता शिवराज भट्टले जानकारी दिए।

उनका अनुसार अजयमेरुकोटको पुनर्निर्माणको कार्य भइरहेकाले सोको जानकारीसहित व्यापक प्रचारप्रसार गर्न, अनारखेतीसँगै अजयमेरुकोट घुम्ने गन्तव्य निर्माण गर्न, अजयमेरु गाउँपालिका भित्रका सबै धार्मिक र ऐतिहासिक पर्यटकीय स्थलको जानकारी गराउने उद्देश्यले पनि महोत्सव गर्न लागिएको हो।

यसका साथै यस क्षेत्रमा सम्भावनामा रहेको कृषि क्षेत्रको उत्पादनलाई बजारीकरण, भटमास उत्पादनको पकेट क्षेत्र भएकाले उक्त बालीमा स्थानीय जनताको सहभागीतामा उत्पादन वृद्धि गराउन तथा स्थानीय कला संस्कृति गौरा नाच, चैत, फाग, हुणकेली जस्ता मौलिक संस्कृतिको प्रदर्शन गरी स्थानीय युवाहरूमा हराइरहेको कला संस्कृतिप्रतिको भावनामा सकारात्मक परिवर्तन ल्याउन पनि महोत्सव आयोजना गर्न लागिएको वडाध्यक्ष भट्टले बताए।

‘स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरेर उहाँहरूको कलाको प्रचारप्रसार गरी राष्ट्रियस्तरमा यहाँका प्रतिभा पहिचान गर्नका लागि पनि हामी महोत्सव लगाउँदैछौँ,’ पत्रकार सम्मेलनमा उनले भने।

एक लाखले महोत्सव अवलोकन गर्ने अनुमान

चार दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ। ‘एक लाख दर्शकले कार्यक्रम नियाल्ने कुरामा कुनै दुविधा छैन। हामीले महोत्सव अवलोकनका लागि कुनै पनि शुल्क तोकेका छैनौँ,’ वडाध्यक्ष भट्टले भने, ‘सबैले निःशुल्क रूपमा आएर महोत्सव अवलोकन गर्न पाउनेछन्।’

महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारको सांस्कृति प्रस्तुति रहने आयोजकले जनाएको छ। प्रत्येक दिन एक जना राष्ट्रियस्तरको कलाकारको महोत्सवमा प्रस्तुति रहने वडाध्यक्ष भट्टले जानकारी दिए।

सांस्कृतिक कार्यक्रमसँगै भलिबल पनि

महोत्सवमा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ। खेलकुदप्रति युवाहरूको साकारात्मक भावनाको विकास गर्न तथा शारिरिक, मानसिक स्वास्थ्य तन्दुरस्त राखेर भलिबल खेलका प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महोत्सवमा भलिबल प्रतियोगिता पनि गर्न लागिएको हो।

प्रतियोगितामा प्रथम पुरुस्कार ७० हजार ७७७, द्वितीय पुरुस्कार ३० हजार ३३३ र तृतीय पुरुस्कार १५ हजार ५५५ रुपैयाँ राखिएको छ। टिम दर्ता शुल्क तीन हजार पाँच सय तोकिएको आयोजकले जनाएको छ।

वडास्तरीय खेलमा खेलाडी सम्बन्धित वडाको हुनुपर्नेछ भने विभागिय टिमको लागि सम्बन्धित कार्यालयको आधिकारीक पत्रसहित कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने वडाध्यक्ष भट्टले बताए। उनका अनुसार विद्यालयको टिम भएमा विद्यालयको आधिकारिक पत्रसहित परिचयपत्र पेश गर्नुपर्नेछ।

एक वडाबाट एकभन्दा बढी टिम पनि समावेश गर्न पाउने उनले जानकारी दिए। साथै वडा कार्यालयबाट सिफारिस र खेलाडीको नेपाली नागरिकताको फोटोकपि समावेश गर्नुपर्ने बताइन्छ। खेल जगतलाई पनि माथि उकास्नमा महोत्सव कोसेढुङ्गाके रूपमा सावित हुने आयोजकको विश्वास छ।

राष्ट्रिय रूपमा ख्याति कमाउन सफल खेलाडीको भलिबल प्रतियोगिताले स्थानीय प्रतिभामा जोश जाँगर भर्नुका साथै खेलजगतप्रतिको लगावमा उल्लेख्य प्रगति गर्ने वडाध्यक्ष भट्टको दाबी छ। महोत्सव सहश्रलिङ्ग मावि चमडाको खेलमैदानमा हुनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...