डडेल्धुरा: डडेल्धुरामा पाँच दिनदेखि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु हटाइएको छ। जेनजी पुस्ताको आन्दोलनका कारण उत्पन्न शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर भदौ २४ गतेदेखि जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयले आज (शनिवार) एक सूचना जारी गर्दै जिल्लाभर कफ्र्यु तथा निषेधाज्ञा हटाइएको जनाइएको छ। प्रमुख जिल्ला अधिकरी जनार्दन गौतमले निषेधाज्ञा तथा कर्फ्यु आदेशको पालना गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोग गरेको भन्दै आम जिल्लावासीलाई धन्यवाद प्रकट गरे।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र दफा ६.३ (क) बमोजिम शनिवार बिहान ६ बजेसम्म निषेधाज्ञा/कर्फ्यु जारी थियो। जिल्लामा शान्ति सुरक्षाको अवस्थामा क्रमिक सुधार भई सामान्य हुँदै गएको विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा तथा कर्फ्यु हटाइएको प्रजिअ गौतमले बताए।
कर्फ्यु र निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ। कर्फ्यु र निषेधाज्ञा हटाइएपछि स्थानीय नागरिकले सहजरूपमा आवतजावत र दैनिक गतिविधि सञ्चालन गर्न पाएका छन्।
