- प्रकाश पार्की
डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ किमोडी। सल्लाका अग्ला रुखहरू, पहाडको हल्का हावासँग लड्दै उभिएको एउटा डाँडो।
त्यही डाँडोको बीचमा रहेको ब्रह्मचारी प्राथमिक विद्यालयमा प्राङ्गणमा उभिएका छन् दुई नानी, एउटीको खुट्टामा नीलो रबरको बुट, अर्कीको खुट्टामा च्यातिन लागेको पुरानो चप्पल। तर यी खुट्टामा थकान मात्र होइन, जीवनको बोझ पनि अडिएको छ।
उनीहरू हुन्, ९ वर्षीया मनिषा कोट्टारी र ६ वर्षकी ललिता कोट्टारी। दुवै अहिले ब्रह्मचारी प्राविमा पढ्छन्। मनिषा कक्षा ४ मा छिन्, ललिता कक्षा २ मा।
ललिता जन्मनुअघि नै टुटेको परिवार
ललिताले यो धर्ती देख्न नपाउँदै उनका बुवाले संसार छोडे। बुवा गम्भीर बिरामी थिए, उपचारको पहुँच थिएन, जीवन पनि समयभन्दा पहिला सकियो। त्यो बेला मनिषा मात्र ३ वर्षकी थिइन्।
बुवाको निधनपछि आमाले पनि व्यक्तिगत र पारिवारिक कारण देखाउँदै उनीहरूलाई छोडेर अन्तै जाने निर्णय गरिन्। त्यस दिनदेखि मनिषा र ललिता आमा–बुवाको काख होइन, जीवनको कठोर वास्तविकतामा हुर्किन थालेका हुन्।
अहिलेको सहारा : गरिबीसँग लडिरहेका ठूला आमाबुवा
आजभोलि उनीहरू आफ्ना ठूला आमाबुवासँग बसिरहेका छन्। तर ती आमाबुवाको जीवन पनि गरिबीको घेराभित्र छ।
खाने, लगाउनेदेखि विद्यालय खर्चसम्म जुटाउन हम्मे–हम्मे पर्ने गरेको ठूला बुवा बलदेव कोट्टारीले बताए। ‘म पनि जेनतेन गरेर गुजरा गरिरहेको छु, भाइ निधनपछि उनीहरूलाई मैले नै पालनपोषण गरिरहेको छु, उनले भने, ‘उनीहरूलाई सबैको सहयोगको खाँचो छ। आफ्नै परिवार पाल्न पनि धौधौ भइरहेको बेला भाइका छोराछोरी पनि पाल्नुपरेको छ। आर्थिक अभाव नै छ।’
तर मनिषा र ललिताले स्कूल छोडेका छैनन्। किनकि उनीहरूका आँखामा अझै पनि ‘भोलि राम्रो हुन्छ’ भन्ने सपना बाँकी छ। मनिषा र ललिताका एक दाइ पनि छन्, मनोज। उनी आलिताल–२ स्थित उणिकोट माविमा कक्षा ७ मा पढ्छन्।
विद्यालयले देखेको पीडा
विद्यालयका प्रधानाध्यापक केशवबहादुर साउदले मनिषा र ललिताको तस्वीर सामाजिक सञ्जालमा राखेपछि धेरैले उनीहरूबारे चासो राखेका छन्। केहीले उनीहरूलाई आर्थिक सहयोग पनि गरिरहेका छन्।
मनिषा र ललिताजस्ता बालबालिका राज्यको विशेष प्राथमिकतामा पर्नुपर्ने प्रअ साउद बताउँछन्। ‘सरकारले शिक्षाको गुणस्तर खोज्छ तर विद्यार्थीका व्यक्तिगत, पारिवारिक र सामाजिक समस्यातर्फ ध्यान दिँदैन,’ उनले भने, ‘यस्ता बालबालिकाको संरक्षण, सहारा र निरन्तर अध्ययन सुनिश्चित गर्न सरकार, समाज र सरोकारवाला सबै गम्भीर हुनुपर्छ।’
अभिभावकविहीन, गरिबी र असहायताबीच पनि मनिषा र ललिता नियमित विद्यालय जाने प्रयास गरिरहेका छन्। उनीहरूको कथा सुदूरपश्चिमका ग्रामीण भेगमा रहेका सयौं जोखिममा परेका बालबालिकाको प्रतिनिधि कथा बनेको छ।
यदि समयमै राज्य र सरोकारवाला निकायले ध्यान नदिने हो भने यस्ता बालबालिकाको भविष्य थप अन्धकारतर्फ धकेलिने खतरा छ।
उनीहरूलाई तल राखिएको प्रअ साउदको मार्फत् सहयोग गर्न सकिन्छ–

