अबैध रूख कटान : प्रधानाध्यापक र अध्यक्षलाई डिभीजन वन कार्यालयमा ल्याइयो
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका– ५ मा अबैध रूपमा सिसमका रूख कटान गरिएको विषयमा सोधपुछ गर्न डिभीजन वन कार्यालयले भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई वन कार्यालयमा ल्याएको छ।
डिभीजन वन कार्यालयको अनुमति बिना विद्यालय परिसर भित्रका सिसम लगायतका रुखहरू अवैध कटान गरिएपछि उनीहरूलाई सोधपुछ गर्न ल्याएको जिल्ला वन अधिकृत राम विचारी ठाकुरले बताए।
भुवनेश्वरी नमूना माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतोमा अवैध रूपमा रूख कटान गरेको स्थानीयको आरोप छ। १२ देखि १४ सिसमका रूख काटिएको स्थानीयको भनाइ छ।
काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर डिभीजन वन कार्यालय डडेल्धुराले व्यक्ति स्वयमको देखाउन खोजेको स्थानीय बताउँछन्।
चारदिन अगाडी रूख कटान गरिएको भएपनि डिभीजन वन कार्यालय डडेल्धुराले भने के कति रूख कटान भएको भनेर एकिन विवरण दिन मानिरहेको छैन्।