Radio Unity 92.2MHz

अमरगढी नगरपालिकाले जित्यो जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड

डडेल्धुराः अमरगढी नगरपालिकाले डडेल्धुरा जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ। अमरगढी नगरपालिका–४ टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगितामा १९ स्वर्ण, १६ रजत र १२ कास्यसहित अमरगढीले शिल्ड उचालेको हो।

प्रतियोगितामा परशुराम नगरपालिका द्वितीय भएको छ। परशुरामले १९ स्वर्ण, ९ रजत र १० कास्य प्राप्त गर्‍यो। स्वर्ण संख्या बराबर भएपनि रजत बढी प्राप्त गर्दै अमरगढीले शिल्ड हात पारेको हो।

छात्र भलिबलको फाइनलमा पुगेको परशुरामको टिम डिस्क्वालिफाइ भएको थियो। फर्जी खेलाडी खेलाइएको पाइएपछि आयोजक जिल्ला खेलकुद समितिले परशुरामको छात्र भलिबल टिमलाई डिस्क्वालिफाइ गर्ने निर्णय गरेको थियो।

त्यसपछि छात्र भलिबलको फाइनलमा अरमगढी र गन्यापधुरा गाउँपालिका शनिबार भिडेका थिए। जसमा अरमगढीलाई २–१ को सेटमा हराउँदै गन्यापधुराले स्वर्ण जित्यो।

प्रतियोगितामा आलिताल गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ। आलिताल ८ स्वर्ण, ९ रजत र १० कास्य जितेको आयोजक जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्मरबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार अजयमेरु गाउँपालिकाले ५ स्वर्ण, १४ रजत र १२ कास्य जितेको छ।

यस्तै, गन्यापधुरा गाउँपालिकाले २ स्वर्ण, २ रजत र ७ कास्य, नवदुर्गा गाउँपालिकाले १ स्वर्ण, १ रजत र ७ कास्य हात पारेको छ। प्रतियोगितामा भागेश्वर गाउँपालिकाले भने एउटा पनि स्वर्ण पदक जित्न सकेन। उसले १ रजत र ३ कास्यमा चित्त बुझाएको छ।

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेल खेलाइएको थियो। प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहको सहभागिता रहेको थियो।

जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले बताए।

उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिनेछ। जिल्ला खेलकुद समितिको आयोजना र अमरगढी नगरपालिकाको आतिथ्यतामा जेठ ६ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सकिएको हो। छात्र भलिबल फाइनलमा विवाद भएपछि प्रतियोगिता लम्बिएको बताइन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...