डडेल्धुरा: १८औँ गणतन्त्र दिवसको अवसरमा डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी भव्यरूपमा दिवस मनाइएको छ। दिवसको अवसरमा बिहान तुफानडाँडाबाट बसपार्कसम्म प्रभातफेरी निकालिएको थियो।

त्यसपश्चात बसपार्कमा ‘गणतन्त्रको उपलब्धि, अवसर र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।
अमरगढी नगरपालिका र जिल्ला समन्वय समितिको सहयोग तथा नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघको सहकार्यमा उक्त अन्तरसंवाद कार्यक्रम गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले गणतन्त्र विश्वकै उत्कृष्ट पद्धति भएको बताए।

नेपाली कांग्रेस डडेल्धुराका उपसभापति तथा अमरगढी नगरपालिकाका नगरप्रमुख दिल्लीराज जोशीले देशमा गणतन्त्र भएकै कारण सबैले आफ्ना कुरा राख्न पाएको बताए। उनले गणतन्त्रकै कारण जनताको छोराछोरी वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म हुन पाएको बताए। उनले जनतामा निरन्तर जागरुकता र जिम्मेवारीको भावना विकास गर्नुपर्नेमा जोड दिए।
नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले नेपालको संविधान २०७२ लाई गणतन्त्रकै सबैभन्दा ठूलो उपलब्धि भनेका छन्। उनले गणतन्त्रकै कारण विभिन्न जातजातीका मानिसहरू उच्च पदसम्म पुग्न सफल भएको दाबी गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला संयोजक सुरेन्द्र अवस्थीले गणतन्त्रले नागरिकलाई व्यक्तिगत स्वतन्त्रता प्रदान गर्ने उल्लेख गरे। उनले गणतन्त्रात्मक शासन प्रणाली विश्वव्यापी रूपमा स्वीकार्य पद्धति रहेको औंल्याए।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज नरबहादुर बिष्टले जनताको शासन प्रणालीका रूपमा गणतन्त्रको व्याख्या गरे। कार्यक्रमको सहजीकरण पत्रकार उत्तर विष्टले गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।