Radio Unity 92.2MHz

डडेल्धुरामा मनाइयो सुर्तीजन्य पदार्थरहित दिवस, सेवनबाट बर्सेनि मर्छन् ३९ हजार नेपाली

डडेल्धुरा: डडेल्धुरामा पनि विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ।

हरेक वर्ष मे ३१ का दिन मनाइने यस दिवसमा धूमपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराइन्छ।

‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौं यो मोहजाल’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय डडेल्धुराले जिल्ला सदरमुकाममा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो।

सन् १९८७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए।

त्यसपछि सन् १९८८ अप्रिल ७ मा विश्व धूमपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि मे ३१ लाई विश्व धूमपानरहित दिवसको रुपमा मनाउन थालिएको हो।

विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको तथ्यांक रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त प्रमुख भवानसिंह कुँवरले जानकारी दिए। उनका अनुसार नेपालमा बर्सेनि करिब ३९ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारण हुने गर्दछ।

सुर्तीजन्य पदार्थको सेवनबाट मुख तथा फोक्सोको क्यान्सर, मुटु रोग, दम, नसाको रोग, श्वास नलीको सङ्क्रमण र क्षयरोगजस्ता घातक रोग लाग्छन्। यी रोग बढ्दै गएपछि मानिसको मृत्युसमेत हुने गरेको कुँवरले बताए।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनमा कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाउने ऐनमा उल्लेख छ। ऐनमा सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने व्यवस्था गरेको छ।

यसका साथै एनेले राज्यका निकाय, स्वास्थ्य संस्था, शिक्षण संस्था, विमान तथा विमानस्थल, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेष्टुरेण्ट, चलचित्र, नाट्यशाला, खेलकुद क्षेत्र, डिपार्टमेन्ट स्टोर, मिनी मार्केक र धार्मिकस्थल, टिकट काउन्टरजस्ता धेरै मानिसहरू कार्य गर्ने जम्मा हुने कुनै पनि सार्वजनिक स्थलहरूमा धुम्रपान तथा सूर्ति सेवन गर्न नपाईने व्यवस्था गरेको छ। तर, डडेल्धुरामा त्यसको कार्यान्वयन भने हुन सकेको छैन।

जिल्लामा विद्यालय नजिकैका पसलहरूमा खुलेआम रूपमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण भइरहेको छ। उक्त कार्यक्रमका सहभागीहरूले धूमपान तथा सुर्तीजन्य पदार्थरहित समाज निर्माणका लागि जनचेतनामूलक कार्यक्रमहरू गनुपर्नेमा जोड दिएका थिए। सञ्चारमाध्यमको प्रयोग गरेर समाजमा यसबारेमा चेतना फैलाउनुुपर्नेमा उनीहरूको भनाइ थियो।

सम्बन्धित पाेष्टहरु
Loading...