डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा रहेको महेन्द्र माध्यमिक विद्यालयले ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ।
तीन दिनसम्म विभन्न कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको हो। अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। ६ वटा ब्लकमा जम्मा ३० वटा कोठा तथा जस्तापाताबाट बनाइएका दुईवटा कोठा गरी जम्मा ३२ कोठा रहेको प्रतिवेदनमा उल्लेख छ। विद्यालयको नाममा ३० रोपनी जग्गा रहेको प्रअ ऐरले जानकारी दिए।
उनले विद्यालयको आर्थिक गतिविधिलाई व्यवस्थित र पारदर्शी ढंगबाट सञ्चालन गर्नका लागि आर्थिक कार्यविधिको प्रयोगलाई निरन्तर प्रयोगमा ल्याइएको बताए।

विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा सुधार आएको तर विद्यार्थी संख्याको अनुपातमा कक्षाकोठा, प्रयोगशाला र अन्य भौतिक पूर्वाधारको कमी तथा विषयगत शिक्षकको अभावका कारण शैक्षिक उपलब्धि र गुणस्तर सुधारमा चुनौती थपिएको प्रअ ऐरको भनाइ छ।

‘संस्कारसहितको गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पठनपाठनलाई अझ समय सान्र्दभिक, संस्कारयुक्त, व्यवहारिक र दिगो बनाउने कार्यलाई निरन्तरता दिइने विद्यालयका प्रअ ऐरले बताए।

कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख जोशीले शिक्षाको विकास हुनु निकै आवश्यक रहेको बताए। उनले विद्यालयलाई नगरपालिको तर्फबाट सहयोग गर्ने प्रतिबद्ध जनाए । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद र साँस्कृति कार्यक्रम पनि आयोजना गरिएको थियो।

विद्यालयका उत्कृष्ट विद्यार्थी, खेलाडी, अभिभावक, विद्यार्थी र विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो। महेन्द्र मावि २०१४ सालमा स्थापना भएको थियो।

