Radio Unity 92.2MHz

डडेल्धुराका स्थानीय तहमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी अपुग

डडेल्धुरा: डडेल्धुराका स्थानीय तहमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएको तथ्याङ्क सार्वजनिक भएको छ।

बिहीबार स्वास्थ्य कार्यालय डडेल्धुराले आयोजना गरेको स्वास्थ्य प्रवर्द्धन सेवा तथा सञ्चारसम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीहरूका लागि पैरवी कार्यक्रममा स्थानीय तहमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी अपुग रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो।

जिल्लाका सात वटा स्थानीय तहमा स्वास्थ्य सेवामा मात्रै स्वीकृत दरबन्दी संख्या १ सय ५६ जना रहेको छ। जसमा १ सय ३३ जना कार्यरत रहेको स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक आशा थापाले जानकारी दिइन्।

जिल्लामा स्वीकृत दरबन्दीमध्ये २३ जनाको पदपूर्ति हुन सकेको छैन। दरबन्दी अनुसार स्वास्थ्यकर्मी अपुग भएपछि यहाँका स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा करारबाट कर्मचारी भर्ना गरेका छन्।

उनका अनुसार जिल्ला सदरमुकाममा अमरगढी नगरपालिकामा २३ जनाको दरबन्दी रहेकोमा हाल २२ जना स्थायी र १२ जना स्थानीय करार गरी ३४ जना स्वास्थ्य सेवामा कार्यरत रहेका छन्। जिल्लाको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिकामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन्।

परशुराममा स्वीकृत दरबन्दी संख्या ३३ रहेको भएपनि हाल २० जना स्थायी स्वास्थ्यकर्मी कार्यरत रहेको तथ्याङ्क छ। सो नगरपालिकामा करार दरबन्दीका १३ र स्थानीय करारका ३८ गरी स्वास्थ्य सेवामा कूल ७१ जना कार्यरत रहेका छन्।

यस्तै, आलिताल गाउँपालिकामा स्वीकृत दरबन्दी संख्या १२ जना छ । जसमा १० जना स्थायी रूपमा कार्यरत रहेका छन्। आलितालमा करार दरबन्दीका २, स्थानीय करारका १५ र अन्य करारका ३ गरी स्वास्थ्य क्षेत्रमा ३० जना कार्यरत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य सेवाअन्तर्गत अजयमेरु गाउँपालिकामा स्वीकृत दरबन्दीअनुसार कर्मचारी छन्। सो गाउँपालिकामा २७ जना स्थायी, १७ स्थानीय करार र २ अन्य करार गरी ५६ जना कार्यरत रहेको तथ्याङ्कमा उल्लेख छ।

यसैगरी भागेश्वर गाउँपालिकामा स्वीकृत दरबन्दी संख्या १७ जना रहेकोमा १६ जना स्थायी रूपमा कार्यरत रहेका छन्। भागेश्वरले पनि करारमा कर्मचारी भर्ना गरेको छ। उसले स्थानीय करारबाट १७ जना भर्ना गरेको छ। भागेश्वरको स्वास्थ्य सेवामा ३३ जना कार्यरत रहेका छन्।

नवदुर्गा गाउँपालिकामा पनि दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन्। २२ जना स्वीकृत दरबन्दी संख्या रहेको नवदुर्गामा १६ जना मात्रै स्थायी स्वास्थ्यकर्मी छन्। उसले पनि स्थानीय करारबाट १७ जना भर्ना गरेको छ। नवदुर्गामा कूल ३३ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन्।

यस्तै, स्वास्थ्य सेवाअन्तर्गत गन्यापधुरा गाउँपालिकामा स्वीकृत स्थायी दरबन्दीअनुसार नै २२ र स्थानीय करारबाट १६ गरी कूल ३८ जना कार्यरत रहेका छन्।

जिल्लाका सातै स्थानीय तहमा स्थायी र करार गरी कूल २ सय ९५ जना स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। दरबन्दीअनुसार कर्मचारी नहुँदा यहाँका स्वास्थ्य संस्थाहरूमा करारका स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्।

जिल्लामा २ सरकारी अस्पताल, २४ स्वास्थ्य चौकी, २६ आधारभूत स्वास्थ्य सेवा केन्द्र, १६ सामुदयिक स्वास्थ्य सेवा इकाई, १०६ खोप केन्द्र, ९२ गाउँघर क्लिनिक र ३६ वटा बर्थिक सेन्टर रहेका छन्।

उक्त कार्यक्रममा स्वीकृत बजेट र हालसम्मको खर्च विवरण पनि प्रस्तुत गरिएको थियो। संघ र प्रदेश सरकारबाट कूल ४ करोड ७१ लाख ४१ हजार बजेट आएकोमा तेस्रो चौमासिक अवधिसम्म एक करोड ९७ लाख ३ हजार ३२ रुपैयाँ खर्च भएको जनाइएको छ।

कार्यक्रममा स्वास्थ्य सेवा प्रवर्द्धनमा सञ्चारको प्रभावकारी प्रयोग, स्थानीय तहमा जनचेतना अभिवृद्धि तथा मिडिया र स्वास्थ्यकर्मीबीच समन्वयात्मक भूमिकालाई सशक्त बनाउने विषयमा विशेष छलफल गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदले नसर्ने रोगहरू बढिरहेकाले सबैले आफ्नो जीवनशैली र खानपानमा विषेश ध्यान दिनुपर्ने बताए।

उनले आधारभूत स्वास्थय सेवा सबैको पहुँचमा पुर्‍याउनु अहिले आवश्यकता भएको पनि बताए। यसका साथै उनले स्वास्थ्य सेवा प्रवर्द्धनमा मिडियाको भूमिका महत्त्वपूर्ण रहेको औंल्याए।

नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले नागरिकलाई स्वास्थयसम्बन्धी सचेताना फैलाउनमा मिडियाले महत्त्वपूर्ण योगदान दिँदै आएको र आगामी दिनमा पनि निरन्तर आफ्नो भूमिका निभाइराख्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

स्वास्थ्य कार्यालय र सञ्चारकर्मीबीचको सहकार्यले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो। कार्यक्रममा स्वास्थ्यकर्मीका साथै जिल्लास्थित सञ्चारकर्मीको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...