Radio Unity 92.2MHz

रहेनन् डडेल्धुरामा देउवाविरुद्ध हरेक चुनाव लड्ने ‘मम्याल बाजे’

डडेल्धुरा: पाँचपटक डडेल्धुराबाट संघीय निर्वाचन लडेका कर्णसिंह रावल (मम्याल बाजे) को निधन भएको छ। केहीदिन यतादेखि बिरामी रहेका रावलको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

नवदुर्गा गाउँपालिकाको मम्या पुर्ख्यौली घर भई जिल्ला सदरमुकाम अमरगढी बस्दै आएका रावल २०५६ सालयताका हरेक निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए।

मालपोत कार्यालयमा तीन दशक सेवा गरेर २०५४ सालमा अवकाश पाएका रावलले २०४८ सालको संसदीय निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सघाएका थिए। तर, निर्वाचनपछि देउवाले आफ्नो सरुवा गरिदिएको रावल बताउँथे। २०५४ मा सेवानिवृत्त भएका रावल २०५६ देखि देउवाविरुद्ध चुनाव लड्न थाले।

‘म बाँचुञ्जेलसम्म शेरबहादुर देउवासँग चुनाव लडिरहन्छु, उहाँलाई कहिल्यै निर्विरोध जित्न दिन्न,’ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्तापछि उनले भनेका थिए। २०७४ सालको चुनावमा उनले २८० मत पाएका थिए भने ०७९ को चुनावमा ४४२ मत ल्याएका थिए।

०८४ निर्वाचनमा देउवाले चुनाव लडे रावल पनि तयारीमा थिए। ‘मलाई जिताए, जिल्लावासीलाई दुई छाक खाने बनाउँछु, देउवाजस्तो बजेट खाने नेता बन्दिन्न,’ भन्ने उनको भनाइ पछिल्लो चुनावमा चर्चित बनेको थियो।

आज मम्याल बाजे यस दुनियाँबाट सधैँका लागि बिदा भए। उनी अब देउवाविरुद्ध उम्मेदवारी दिने छैनन्। तर डडेल्धुराका मतदाताको स्मृतिमा मम्याल बाजे देउवाविरुद्धको चुनावी चिनारीका रूपमा अमर रहनेछन्।

सम्बन्धित पाेष्टहरु
Loading...