Radio Unity 92.2MHz

विपद्का घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन डडेल्धुरा प्रशासनको आग्रह

डडेल्धुरा: बुधबारदेखि अविरल वर्षा भइरहेकाले सम्भावित विपद्का घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सतर्क रहन आग्रह गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले वर्षाको समयमा हुनसक्ने बाढी, पहिरो र नदी कटानलगायतका विपद्का घटनाहरूबाट जोगिन सूचनामार्फत् आग्रह गरेकी छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारदेखि शुक्रबारसम्म सुदूरपश्चिमका जिल्लाहरूमा साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यसैले वर्षाको समयमा हुनसक्ने बाढी, पहिरो र नदी कटानलगायतका विपद्का घटनाहरू घटी जोखिम हुनसक्ने भएकोले जिल्लाका सम्भावित जोखिमयुक्त ठाउँहरूमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुनले बताइन् ।

उनका अनुसार विपद्का कुनै घटना हुने अवस्था देखिए तत्काल सम्बन्धित स्थानीय तह र स्थानीय सुरक्षा निकायहरूसँग सम्पर्कमा रही उच्च सतर्कता अपनाउनु हुन र आवश्यक पूर्वतयारी गर्न सबै सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई अनुरोध गरिएको छ।

बुधबार दिउँसो परशुराम नगरपालिका–७ स्थित साँदनी खोलामा बाढी आउँदा खोलाको बीच टापुमा अड्किएका दुई महिलाको सकुशल उद्धार गरिएको थियो।

यसवर्षको मनसुनबाट डडेल्धुरामा साढे २९ हजार बढी नागरिक प्रभावित हुने आकलन छ। जिल्लाका सातै स्थानीय तह विपद्को जोखिममा रहेपनि परशुराम नगरपालिका र आलिताल गाउँपालिका उच्च जोखिममा छन्। त्यस क्षेत्रमा अन्य पालिकाभन्दा बढी बाढी र पहिरोको जोखिम रहेको बताइन्छ।

प्रशासनले जारी गरेको सूचना–

 

सम्बन्धित पाेष्टहरु
Loading...