Radio Unity 92.2MHz

डडेल्धुरामा सरप्राइज एण्ड डिजिटल हब सञ्चालनमा

डडेल्धुरा: जिल्लाको अमरगढी नगरपालिका–५ शिक्षा रोडमा स्थापना गरिएको ‘सरप्राइज एण्ड डिजिटल हब’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

मंगलवार उक्त हबको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपकबहादुर महताले एक विशेष समारोहका बीच उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष महताले यस्ता बहुउद्देश्यीय सेवा केन्द्रहरूले स्थानीय युवाहरूलाई सीपमूलक तथा व्यावसायिक शिक्षामा जोड दिँदै स्वरोजगारका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

उनलेले डिजिटल युगअनुसार आवश्यक सीप विकास गराउने र आधुनिक व्यापार अहिलेको आवश्यक्ता रहेको र यस्ता संस्थाहरू जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण हुने धारणा राखे।

सरप्राइज एण्ड डिजिटल हबले एउटै स्थानबाट विभिन्न सेवा तथा तालिमहरू उपलब्ध गराउने लक्ष्य राखेको छ। हबअन्तर्गत सञ्चालन हुने कम्प्युटर इन्स्टिच्युटमार्फत बेसिक कम्प्युटर, एमएस अफिस, ग्राफिक डिजाइन, भिडियो सम्पादन, वेब डिजाइन, ट्याली/एकाउन्टिङ, नेपाली तथा अंग्रेजी टाइपिङजस्ता सीपमूलक तालिमहरू प्रदान गरिनेछ।

यसैगरी, हबले अनलाइन सेवाअन्तर्गत लोकसेवा फाराम भर्ने, ड्राइभिङ लाइसेन्स तथा पासपोर्ट आवेदन, अनलाइन परीक्षा तथा जागिर आवेदन, बायोडाटा तयार गर्नेलगायतका सेवाहरू पनि उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी, सरप्राइज तथा उत्सव व्यवस्थापन सेवाअन्तर्गत विवाह, इन्गेजमेन्ट, जन्मदिन, वार्षिकोत्सव, बेबी सावर, विद्यालय कार्यक्रम सजावट, कार डेकोरेशन, बुके तथा विभिन्न उपहार सामग्री तयार गर्ने सेवा प्रदान गरिनेछ। ग्राहकको चाहनाअनुसार विशेष होम डेलिभरी सप्राइज सेवा समेत उपलब्ध गराइनेछ।

संस्थाले ‘हरेक उत्सव र डिजिटल सीप एउटै छानामुनि’ भन्ने अवधारणासहित सञ्चालनमा आएको जनाउँदै स्थानीय स्तरमै गुणस्तरीय सेवा र सीप विकासको अवसर प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...