अवैध रूख कटानमा संलग्न प्रधानाध्यापक र अध्यक्षलाई जमानीमा छाडियो
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका– ५ मा अवैध रूपमा सिसमका रूख कटानमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय डडेल्धुराले छोडेको छ । भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई वन कार्यालयले छोडेको हो।
प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई चार जनाको जिम्मा जमानीमा छोडिएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहले बताएका छन् ।
‘प्रारम्भिक रिपोर्ट अनुसार मुद्दा अगाडि बढाएका थियौं। अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेश गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो। स्वास्थ्य परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई छोडिएको छ,’ उनले भने ।
उनीहरूको सम्पर्कमा आएका कर्मचारी होम आइसोलेसनमा बसेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । नजिकका स्थानीयको घर र वडाअध्यक्षको घरमा लुकाएर राखिएको भन्ने कुरा आएकोले भोलीदेखि खान तलासि गर्ने वन अधिकृत सिहले बताएका छन् ।
डिभिजन वन कार्यालय डडेल्धुराले अवैध रूपमा काटिएका सिसम र हल्दोका गरि १८८.८० क्युफिट काठ कटान भएको तीन दिनपछि मात्रै बरामद गरेको थियो । प्रारम्भिक विवरण अनुसार सिसमका ८ र हल्दोका दुई रूख काटिएको पाइएको थियो ।
रूख कटान भएको पाँच दिन भइसक्दा समेत पूर्ण विवरण नआएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । अनुसन्धान तीव्र गर्नु पर्ने भएपनि डोजर प्रयोग गरी खाडलमा पुरेको काठ र स्थानीयको घरमा लुकाएर राखेको काठ बरामद नगरेको उनीहरूको आरोप छ ।
तर, यता डिभिजन वन कार्यालयले कर्मचारी अभाव भएकै कारण अनुसन्धानमा ढिलो भएको बताएको छ।
परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टले मौखिक रूपमा रूख कटान गर्न अनुमति दिएको र स्वयम् भट्ट संलग्न रहेको अवस्थामा उनीलाई नै अनुसन्धान अधिकृत तोकिनु शकांस्पद भएको स्थानीयको भनाइ छ ।
डिभिजन वन कार्यालय डडेल्धुराको मिलेमतोमा अबैध रूपमा सिसम कटान
अबैध रूख कटान : प्रधानाध्यापक र अध्यक्षलाई डिभीजन वन कार्यालयमा ल्याइयो
भुवनेश्वरी नमूना मावि परिगाउँबाट अबैध काठ बरामद