शेर भण्डारी/चन्द्र नाथ
डडेल्धुराः महाकाली नदी निरन्तर बगिरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ। शिक्षा, स्वास्थ्य, यातायता, सञ्चार सबैको पहुँच पुगेको छ त्यहाँ।
साँझ प¥यो कि झिलिमिली हुन्छ, ताम्ली गाउँ। तर, नेपाली भूमि चुँडी गाउँ भने अन्धाकारमय छ। चुँडी गाउँमा भारतको जस्तै विकास कहिले होला भनेर सोच्ने गर्छिन्, सुनादेवी बोहरा।
भारतीय गाउँमा विजुली बलिरहँदा उनी भने अन्धाकारमा बसिरहेकि छन्। भारतीय बजारबाट किनेर ल्याएका सोलारको धिप–धिप उज्यालोले चित्त बुझाइरहेकी छन्, उनी।
भन्छिन्, ‘सोलार पनि कहिले बल्छन्, कहिले बल्दैनन्। बादल र पानी परेको दिन सोलार नबलेपछि रात काट्नै समस्या हुन्छ।’
गाउँमा खानेपानी पनि छैन्, एक घण्टा हिडेर पानी बोक्नु पर्ने स्थानीय पदमसिंह थलाल बताउँछन्। नेपाल टेलीकमको टावर नहुँदा भारतीय सिम प्रयोग गर्ने उनको भनाइ छ।
‘पारी भारत छ, हामी वारी छौं, उता विकास भएको छ यता छैन्। हामी नेपालमा छौं कि भारतमा छौं हामीलाई नै थाहा छैन्’ उनले भने, ‘नेपाल सरकारले हामीलाई हेर्दैन्। भारतीय पक्षले महाकाली पारी नेपाल भन्छ। उताको विकास देख्न पाइन्छ। भोग्न पाइँदैन्।
उनले देशमा जुनसुकै पार्टीको सरकार आएपनि आफूहरूले विकासका पाँच पूर्वाधारहरू प्राप्त नगरेको बताए। ‘प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्लाका नागरिक भएपनि हामी नेपालबाट टाढा छौं, तर, नेपाली भूमिमै छौं,’ उनले भने।
स्थानीय भन्छन् : सिंहदरबार पुगेन्
यहाँका स्थानीय नेपाली भूमिमा बस्ने गरेकै कारण आफूलाई नेपाली भनेर चिन्ने गरेको बताउँछन्। दैनिक नुन, तेल ल्याउन पनि उनीहरू भारतीय बजार तिरै जान्छन्।
सरकारले चुँडी गाउँको विकास नगरिदिए पनि महाकालीमा पुल राखिदिँदा आफूहरूलाई सहज हुने स्थानीय लोकबहादुर ठकुराठीेको भनाइ छ। देश संघीयतामा गए पश्चात गाउँगाउँमा सिंहदरबार आउने चर्चा चल्यो।
सिंहदरबार नदेखेका दुर्गम गाउँका यी नागरिक पनि विकासको लहर आउँछ भन्ने सोचे पनि त्यसो नभएको ठकुराठीेको भनाइ छ। देश संघीयतामा गएको चार वर्ष बढी भइसक्दा समेत नागरिकले सिंहदरबारको अनुभुति गर्न नपाएका उनी बताउँछन्।
करिब ३० घर परिवार रहेकोे यो गाउँमा घोरेटो बाटो समेत छैन्।
‘हाम्रा दुख यस्तै थिए। अझ यस्तै छन्। कहिलेसम्म यस्तो रहने हो थाहा छैन्,’ स्थानीय महेश ऐडी भन्छन्, ‘सिंहदरबार आउँछ भनेर चुनाव जितेका जनप्रतिनिधिले गाउँको विकासमा ध्यानसम्मन् दिएका छैनन्।’
उनी भन्छन्, ‘सिंहदरबार त त्यस्तै हो हाम्रो गाउँमा चुनाव जितेपछि जनप्रतिनिधि समेत पुगेका छैनन्।’
दुर्गम बस्ति चुँडी गाउँमा कोही विरामी पर्दा पाँच घण्टाको पैदल यात्रा गरेर .विरामीलाई बोकेर भारतीय अस्पतालमा पु¥याउनु परेको ऐडिको भनाइ छ। गाँउमा विद्यालय नहुँदा विद्यार्थीहरू दुई घण्टौं हिडेर पत्तरम ठाउँमा पुग्ने गरेको लोकबहादुर ठकुराठीेले बताए।
उनी भन्छन्, ‘हिड्न सक्ने विद्यालय गएर पढ्छन् नस्कने घरको काम गर्छन्।’
सरकारले प्रधानमन्त्री स्वरोजगारका कार्यक्रम ल्याए पनि चुँडी गाँउमा हिँड्ने गोरेटो बाटोको समेत व्यवस्था नगरिदिएको उनको भनाइ छ।
वडा कार्यालय पुग्नको लागि पाँच घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता रहेका यहाँका नागरिकले बिजुलीसम्म देख्न पाएका छैनन्।
‘उज्यालो भागेश्वर’ अभियान सञ्चालन गरेको गाउँपालिकामा पटक–पटक जानकारी गराउँदा सम्म ध्यान नदिएको स्थानीयको दुखेसो छ।