समाजसेवी विनयलाई भव्य स्वागत, चुनावको मुखमा किन आए गृहजिल्ला ?
को हुन् विनय ?
डडेल्धुराः समाजसेवी प्रकाश ‘विनय’ मल्ललाई गृहजिल्ला डडेल्धुरामा भव्य स्वागत गरिएको छ।
शनिबार मोटरसाइकल ¥यालीसहित स्याउँले बजार हुँदै टुँडिखेलसम्म बाजागाजासहित जिल्लावासीले बजार परिक्रमा गराएका थिए।
जिल्लाबासीले यहाँका गरीव, पीडित तथा समाजमा पछाडि परेका बर्गलाई सहयोग गरेको भन्दै उनलाई फूलमालाले स्वागत गरेका थिए। उनले समाजसेवा गर्दै लाखौं रूपैयाँ खर्च गरिसकेका छन्।
अमरगढी नगरपालिका–४ खलंगा घर भएका ‘विनय’ लामो समयदेखि जापानमा बस्दै आएका छन्। उनले डडेल्धुराको अमरगढी नगरपालिकाका अधिंकाश सामुदायिक विद्यालयमा अक्षय कोषसमेत स्थापना गरेको स्वतन्त्र युवा एकता टिमका अध्यक्ष सुरत तमोलीले बताए।
यहाँका राजनीतिक दल तथा जनप्रतिनिधिहरूले गर्न नसकेको काम विनयले गरेको कारण उनलाई भव्य रूपमा स्वागत गरिएको स्थानीय मिन बिष्टले बताए।
उनी भन्छन्, ‘यहाँका नेता तथा जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भइरहेको समयमा विनयले स्वतन्त्र रूपमा यहाँका नागरिकको भलो चिताउने काम गरिरहेका छन्।’
चुनावको मुखमा किन आए गृहजिल्ला ?
आसन्न स्थानीय तहको चुनाव नजिकिँदै गर्दा ‘विनय’ गृहजिल्ला आएपछि यहाँका राजनीतिक दलहरू शसंकित भएका छन्। उसो त उनी अमरगढी नगरपालिकाको नगरप्रमुखमा उठ्ने चर्चा पनि चलिरहेको छ।
युनिटी खबरसँग कुरा गर्दै विनयले तत्काल चुनावमा लड्ने बारे आफूले नसोचेको बताए। झापाको मान्छे यहाँ आएर चुनाव नलड्ने भएकोले यहाँका जनताको हितमा काम गर्ने व्यक्तिलाई निर्वाचनमा जिताउन उनले अनुरोध गरे।
‘तत्काल चुनाव लड्ने नलड्ने केही योजना छैन्। यहाँका स्थानीयसँग छलफल गर्छु, यदि उहाँहरूको इच्छा छ भने चुनाव लड्छु। उनले भने, ‘चुनाव लडेको खण्डमा एक्लै नलडेर यहाँका ५२ वटै वडामा स्वतन्त्र युवाको टीम बनाएर चुनावमा होमिन्छौं।’
को हुन् विनय ?
डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगाका १६ बैशाख २०४३ मा बुवा खडकबहादुर मल्ल र आमा बसन्तीदेवी मल्लको कोखबाट जन्मिएका विनयको बाल्यकाल भने कहालिलाग्दो छ। गरिव परिवारमा जन्मिएका विनयको बाल्यकाल भने संघर्षपूर्ण वित्यो।
विद्यालय पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमा उनले बुवालाई गुमाए। हृदयघातबाट बुवाको मृत्यु भएपश्चात परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। एकातिर पढाई अर्कोतिर पारिवारीक जिम्मेवारी जीवन यसरी नै अघि बढ्दै गयोउनको।
कक्षा १२ सम्मको पढाई नजिकै रहेको महेन्द्र माध्यमिक विद्यायबाट पूरा गरे उनले। हरेक परिस्थितीलाई अवसरको रूपमा लिई अगाडी बढेका विनय जिन्दगीमा आएका जस्ता सुकै उतारचढाबलाई सहजै रूपमा लिएर अघि बढे।
विनय भन्छन्, ‘सानै उमेरमा काँधमाथि ठूलो जिम्मेवारी थपिएर होला जस्तो सुकै कार्य गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो।’
नेपाल प्रहरीदेखि सफल व्यवसायी
डिप्लोमा स्तरको अध्ययन बिचमै छोडी २०६३ सालमा नेपाल प्रहरीमा भर्ना भए उनी।प्रहरीमा भर्ना भएर पनि उनले पढाईलाई निरन्तरता दिए। प्रहरीको जागीरे उनले डिप्लोमाको अध्ययन त्रिभुवन यूनिर्भसिटि बाट पूरा गरे।
नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन गरेको उनी बताउँछन्। उनले २०७० सालमा प्रहरीको जागीरबाट राजीनामा दिए। र, उनलाई जापान जाने इच्छा लाग्यो।
उनले ईन्टरनेशनल जापनिज ल्याङगोईज एकेडेमि सेन्दाई जापानमा भर्ना भई १५ महिना जापानिज भाषा अध्ययन गरि तोहोकु कम्प्युटर कलेज सेन्दाई,जापानमा दुई वर्ष ईन्टरनेसनल विजनेश कोर्स गरे। र, जापानिज कम्पनीमा ‘स्पेलिस्ट ईन ह्यूम्यानेटी ईन्टरनेसनल सर्भिसको’ भिषा प्राप्त गरि ३ बर्ष काम समेत गरे।
‘अरूको काम कहिलेसम्म गर्ने भन्ने मनमा प्रश्न उठ्न थाल्यो। अब आफ्नै व्यवसाय गर्नुपर्छ। भन्ने उदेश्यले अहिले म आफ्नै मल्ल किंग्स कम्पनी लिमिटेड खोलेर जापान सरकारबाट विजनेश भिसा प्राप्त गरि कम्पनी सञ्चालन गरिरहेको छु,’ उनले भने।
अहिले उनको कम्पनीमा जापनीज र नेपाली गरि ३१ जनाले रोजगारी गरिरहेका छन्।
सहयोगीको अर्को नाम ‘विनय’
पछिल्लो समयमा युवा पुस्ता माझ लोकपृय बनेको नाम हो, प्रकाश ‘विनय’। विनय लोकपृय हुनुको कारण हो दिन दुखिलाई सहयोग गर्नु। ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भने झैं ‘विनय’ को मन पनि ठूलो छ।
हिलो र माटोमा खेल्दै व्यवसायी बनेका मल्ललाई अहिले पनि विगतले झक्झकाई रहन्छ। विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्न नपरोस् भन्ने उनी चाहन्छन्। त्यहीँ कारण गरीब तथा पीडामा परेकालाई उनले जापानबाट आर्थिक सहयोग गरिरहन्छन्।
‘मैले विताएको जिन्दगी अरूले जिउन नपरोस् भन्ने चाहन्छु। विपन्न,गरिव, अनाथ तथा दिनदुखी देख्दा मनले मान्दैन्। सहयोग गरिहाल्छु,’ उनी भन्छन्।
विनयले सहयोग गर्छ भन्ने सुनेर होला अहिले गृहजिल्लाबाट धेरैको फोन आउने गरेको उनी बताउँछन्। उनले अहिलेसम्म लाखौ रूपैयाँ सहयोग गरिसकेका छन्।
कसैलाई राशन, कसैलाई आर्थिक सहयोग त कसैलाई लत्ता, कपडा दिनु उनको दैनिकी बनिसकेको छ। कोरोना कहरको समयमा पनि उनी पीडितको लागि सारथी बनेका थिए। डडेल्धुरामा रहेका मठ मन्दिर, विद्यालय र कोरोनाको समयमा अक्सिजन खरिद गर्न सहयोग गरेको उनी बताउँछन्।