सहश्रलिङ्ग माविलाई ह्वाइट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण
डडेल्धुरा: महालक्ष्मी विकास बैंक लिमिटेड डडेल्धुरा शाखाले अजयमेरु गाउँपालिका–२ मा रहेको सहश्रलिङ्ग मावि चमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्यांकी सहयोग गरेको छ। ‘सबल बैंक, सफल सहकार्य’ को मूल नारालाई आत्मसाथ गर्दै आएको बैंकले शनिबार विद्यालयलाई ह्वाइट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरेको हो।
विद्यार्थीहरूलाई पठन पाठनमा सहजका निम्ति ७ थान ह्वाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति एक हजार लिटर क्षमता भएको १ थान पानी ट्यांकी हस्तान्तरण गरिएको डडेल्धुरा शाखाका शाखा प्रबन्धक प्रकाश खड्काले बताए।
विद्यालयले सामाजिक कार्यका निम्ति बैंक परिवारलाइ धन्यवाद प्रकट तथा सम्मान पत्र प्रदान गरिएको थियो। शाखा प्रबन्धक प्रकाश खड्काले आगामी दिनमा पनि सामाजिम उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्दै जाने बताए।
उक्त हस्तान्तरण कार्यक्रममा अजयमेरु वडा नं. २ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थान समितिका अध्यक्ष हरिकृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रनबहादुर ऐर, अन्य शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधिहरूउपस्थिति रहेको थियो। महालक्ष्मी विकास बैंकले विगत २७ वर्षदेखि नेपालभर १ सय ३ शाखा तथा ३५ वटा एटीएममार्फत् गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।