डडेल्धुरा: डडेल्धुरामा देउडा लयमा गीत गाँउदै र रोप्दै १९औँ राष्ट्रिय धान दिवस मनाएको छ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ डोटी घटाल (साउँद गाउँ)मा किसानको खेतमा गएर कृषि ज्ञान केन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो।
धान रोप्ने बेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै/रमाउँदै धान दिवस मनाइएको अमरगढी नगरपालिका–३ का वडाअध्यक्ष तीर्थ ऐरले बताए। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धान दिवस मनाइने गरिन्छ।
दही चिउरा खाँदै देउडा लयमा गीत गाँउदै धान दिवस मनाइएको हो। वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको छ।
‘धान बालिमा जैवि विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।
भट्टका अनुसार डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। असार १५ सम्म जिल्लामा ६५ प्रतिशत रोपाईं सम्पन्न भइसकेको उनको भनाइ छ।
‘मौसम अनुकल हुँदैछ, असारको अन्तिम वा साउनको पहिलो सातासम्म सबै ठाउँमा रोपाईं सकिन्छ। चिसो ठाउँ भएका कारण कृषकले चाँडो विउ राख्ने गरेका छन्। जेठभित्र रोपाईं सक्ने परम्परागत चलन छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण समयमा पानी पर्देन्। त्यसैले किसानले विउ राख्न हतार गर्नु हुँदैन्।’
जेठमै रोपाईं गरिसक्ने भएपनि यसपालि पानी नपर्दा रोपाईं ढिलो सुरु भएको कृषक जगदिश बोहराले बताए। खोलानालामा पानी नहुँदा बोरिङको पानीले रोपाईं गरिरहेको उनको भनाइ छ।
धान दिवसमा स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख, कृषि ज्ञान केन्द्रका कर्मचारी, अमरगढी कृषि शाखाका प्रतिनिधि र स्थानीय कृषकको सहभागिता रहेको थियो।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।