डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरास्थित उग्रतारा माध्यमिक विद्यालयमा उत्पन्न तनाव पूर्ण अवस्था साम्य भएको छ । आइतबार बिहानैदेखि विद्यालय परिसरमा तनाव पूर्ण अवस्था सिर्जना भएको थियो ।
यतिसम्मकी अवस्था सामान्य पार्न प्रहरीले लाठी चार्ज नै गर्नु परेको थियो । उग्रतारा मावि पोखरामा आइतबार बिहानैदेखि स्थानीय अभिभावकहरू एकाएक भेला भएका थिए । अभिभावकहरु नारावाजी गर्दै विद्यालयका प्रधानाध्यापकको राजीनामा माग गरिरहेकै बेलामा स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
स्थानीयले आइतबार विद्यालय घेराउ गर्दै प्रधानाध्यापकको राजीनामा माग्दै विद्यालय प्रशासनमा ढुंगामुढा समेत गरेका थिए । प्रधानाध्यापक चन्द्रबहादुर शाहु र विद्यालयमै कार्यरत एक शिक्षिकाबीचको अनैतिक सम्बन्ध तथा लेखापालमाथि प्रअले गरेको कुटपिटको विषयले विद्यालयमा तनाव पूर्ण अवस्था सिर्जना भएको हो ।
शक्रबार शाहुले विद्यालयमै लेखापाल टीका ऐरमाथि कुटपिट गरेको थिए । लेखापाल ऐरले मदिरा सेवन गरी बिहीवार साँझ आफूलाई समेत गालीगलौज गर्नका साथै आफनो चरित्र हत्या गरेको आरोप प्रअ शाहुले लगाएका थिए । त्यसपछि शनिबार स्थानीयले विद्यालयमा तालाबन्दीसमेत गरेका थिए ।
शिक्षाको ज्योती प्रदान गर्ने शिक्षक–शिक्षिकाको व्यवहारले आजित बनेका स्थानीयले विद्यालयका प्रधानाध्यापक र शिक्षिकाको सरुवा मुख्य माग राखेपछि विद्यालयमा बसको सर्वपक्षीय बैठकले सोही अनुरूप प्रधानाध्यापकको राजीनामाका साथै एक हप्ताभित्र अन्यत्र विद्यालयमा सरुवाको निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र जोशीले जानकारी दिए ।
उनका अनुसार शिक्षा नियमावली अनुसार दुवैजनाको सुरुवा गरिनेछ । विद्यालयको अवस्था बिग्रिन नदिन अब उप्रान्त शैक्षिक गुणस्तर कायम गरी नियमित रूपमा विद्यालयमा संचालनमा सहयोग गर्न नवनियुक्त प्रधानाध्यापक रामदत्त जोशीले सबैमा आग्रहसमेत गरेको छ ।
विद्यालयमा हुने यस्ता घटनाले सरकारी विद्यालयप्रतिको जनअपेक्षा गलत बन्नुका साथै शिक्षण पेशामा रहेका व्यक्तिहरुका लागि निकै चुनौती बन्ने देखिएको छ । विद्यालयमा तालाबन्दी र आन्दोलनका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ ।