डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–३ मा मौसमी फलफुलको रस उत्पादन गर्ने भन्दै अनुदान लिएर सञ्चालनमा नआएको उद्योगलाई सुदूरपश्चिम सरकारले बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बार्षिक विकास कार्यक्रममा दोगडा भूमिराज फलफूल प्रशोधन उद्योगलाई अपुरो रहेको भन्दै ३५ लाख बजेट विनियोजन गरेको छ । यो उद्योगका सञ्चालक बलदेव भट्टले सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्र डडेल्धुराबाट ५६ लाख ७५ हजार अनुदान पाए ।
उनले एक करोड ७ लाखको उद्योग देखाएका थिए । उद्योग भट्टको नाममा रहेको भएपनि अर्को व्यक्ति ललितमोहन भट्टको पनि यसमा लगानी रहेको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराले किस्तामा दिनुपर्ने भुक्तानी उनलाई एकै पटक दियो । तर, यो उद्योग सञ्चालनमा नआउँदै अनुदान पाएर बन्द गरिएको छ ।
मौसमी फलफूलहरू मेसिनबाट रस निकाली उत्पादन बजारमा पठाउने तयारी गरि गत २०७७ को फागुनमा तामझामका साथ यो उद्योग सञ्चालनमा आएको थियो । अमरगढी नगरपालिका–३ लिजमा जमिन लिएर उद्योग सञ्चालनमा ल्याएका सञ्चालकले दुई वर्षसम्म जमिनको भाडा समेत तिरेका छैनन् ।
डडेल्धुरामा अनुदान रकम झ्वाम पारेका संचालकद्धय भट्टले बैतडीमा पनि कोल्डस्टोरका नाममा कृषि ज्ञान केन्द्रबाट अनुदान लिएका छन् । दुई वर्ष अघि एक करोड अनुदान आएकोमा काम गर्न नसकेका उनीहरूलाई सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्र बैतडीले १५ लाख अनुदान दिएको छ ।
एउटै व्यक्तिले दुई ठाउँबाट अनुदान दिन नपाइने भएपछि यी दुईले चलाखि पूर्ण रूपमा डडेल्धुरामा बलदेव र बैतडीमा ललित मोहनका नाममा अनुदान लिइएको पाइएको छ ।