Radio Unity 92.2MHz

डडेल्धुरामा ‘मतदाता नामावली अद्यावधिक’को काम सुरु हुँदै

डडेल्धुराः डडेल्धुरामा मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरिने भएको छ। जिल्लामा अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम संचालन गरिने भएको हो।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया १२ गतेबाट सुरु हने डडेल्धुराका जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

उनका अनुसार उक्त प्रक्रियाअन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिने छ। जिल्लाका ५२ वटै वडामा मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम संचालन हुनेछ।

उक्त कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरे। निर्वाचनको पहिलो आधार स्तम्भ मतदाता नामावली भएकाले उल्लेख गर्दै जोशीले यस कार्यक्रमलाई सफल पार्न पनि सबैसँग अनुरोध गरे।

जिल्लामा २ हजार २ सय बढी मतादाता थप भएको पनि बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए। उनकाअनुसार बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनपछि जिल्लामा २ हजार २ सय ५८ मतदाता थप भएका छन्।

स्थानीय तह निर्वाचनको समयमा डडेल्धुरामा ९० हजार ११९ मतदाता थिए। जिल्लामा २२ मतदानस्थल थप गर्न सिफारिस भएको पनि उनले जानकारी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि डडेल्धुरामा ८० मतदानस्थल र १२६ मतदान केन्द्र थिए।

मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। मंसिर ४ गते बिहीबार निर्वाचन हुने गरी नेपाल सरकारबाट यही साउन १९ गते घोषणा भएपश्चात निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य साउन २० गतेदेखि स्थगन भएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...