बन्ढुनीका अवसरमा पोखरामा बृहत् सांस्कृतिक कार्यक्रम
डडेल्धुराः बन्ढुनी पर्वका अवसरमा डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
शनिबार ‘कला र संस्कृतिको जर्गेना, हामी सबैको दायित्व हो’ भन्ने मूल नारासहित साहारा युवा क्लब पोखराको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
साहारा युवा क्लबले ‘छैटौं सांस्कृतिक प्रस्तुति तथा बन्ढुनी मेला’ आयोजना गरेको थियो। प्रत्येक वर्ष असोज १ गते यहाँ बन्ढुनी पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएका छन्।
विगतका केही वर्षमा कोरानाका कारण पोखरामा बन्ढुनीका अवसरमा सांस्कृतिक कार्यक्रम भएका थिएनन्। यसवर्ष भने बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको साहारा युवा क्लबका अध्यक्ष कैलाश भट्टराईले जानकारी दिए।
कार्यक्रममा विभिन्न डान्स ग्रुप नृत्य, हास्यव्यंग्य, देउडा तथा लाङ्घाली होमस्टे आलितालको सालैजु कौडा नृत्यसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले संस्कृति जर्गेना गर्नका लागि यस्ता किसिमका कार्यक्रमहरू आयोजना हुनुपर्नेमा जोड दिए।
उनले पुराना संस्कृति जोगाउनमा सबैले लाग्नुपर्ने औंल्याए। कार्यक्रममा जिसस उपप्रमुख अमृताकुमारी ठडालीमगरलगायत अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।