Radio Unity 92.2MHz

डडेल्धुरामा धान कुहिएर नष्ट, कृषक चिन्तित

  • ललिता रावल

डडेल्धुराः डडेल्धुरामा खेतमा लगाएको धान कुहिएपछि कृषक चिन्तित बनेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–३ मा धान कुहिएर नष्ट भएको हो।

सकायल, कोराल, गौलीगाउँलगाएतका ठाउँमा धान कुहिएर नष्ट भएको कृषकको गुनासो छ। दुःख कष्ट गरेर लगाएको धान कुहिएर नष्ट भएकोमा गन्यापधुरा गाउँपालिका–३ की कृषक चाँदनी रावलले दुःख व्यक्त गरिन्।

उनले बाँकी रहेको धानमा समेत रोग फैलिँदै गएकोले त्यसबालाई फैलिन नदिन सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताइन्। बर्षातको समयमा खडेरीका कारण ढिलो गरि रोपाईं गरेका कृषक बाली भित्र्याउने बेला कुहिँदा चिन्तित छन्।

स्थानीय कृषक डम्मरीदेवी रावल रावल भन्छिन्, ‘बर्खा भर घामपानी नभनेर खेतमा धान रोपेका थियौं, अहिले बाली भित्र्याउने बेला कुहिएर नष्ट भयो।’

‘हामी खेती किसानी गरेर खाने गछौं, रोपाईं गरेको खेतमा धान कुहिएर नष्ट भइसक्यो, छोरछोरी कसरी पाल्ने? गाई गोरुलाई नल पराल छैन कसरी पाल्ने?,’ उनले भनिन्।

धान बारीमै कुहिन थालेपछि हातमुख जोड्न पनि समस्या भएको उनी बताउँछिन्। कतिपय कृषकले धान कुहिएर बाला नलागेपछि काटेर गोरुलाई खुवाएको छन्। उनले स्थानीय सरकार र कृषी ज्ञान केन्द्रले राहत दिनु पर्ने माग गरिन्।

गन्यापधुरा गाउँपालिकाले भने गाउँपालिकाका धेरै ठाउँमा यो रोग देखिएको जनाएको छ। वडा नम्बर ५ र ३ मा धान कुहिने समस्या देखिएको गन्यापधुरा गाउँपालिकाका कृषि शाखा प्रमुख योगेशप्रसाद पाण्डेयले बताए।

‘पालिकाको कृषि शाखा अन्र्तगत खाद्य तत्वको रूपमा जिंक, विषादी, स्प्रे आदी कृषकलाई वितरण गरेका छौं,’ उनले भने, ‘कृषि ज्ञान केन्द्र डडेल्धुराको सहयोगमा बाली संरक्षण केन्द्र कञ्चनपुर र कृषि ज्ञान केन्द्र धनुषाबाट पनि टिम ल्याएर हामीले धानका बाला अनुसन्धानका रूपमा पठाएका छौं, रिपोर्ट आउन बाँकी छ।’

सम्बन्धित पाेष्टहरु
Loading...