Radio Unity 92.2MHz

सबै वडामा ‘सुपथ मूल्य पसल’ सञ्चालन गर्दै अजयमेरु सरकार

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘सुपथ मूल्य पसल’ सञ्चालनमा ल्याउने भएको छ। यहीँ असोज १० गतेदेखि सबै वडा कार्यालयमा सुपथ मूल्य पसल सञ्चलनमा ल्याउन लागिएको गाउँपालिकाकाले जनाएको छ।

चाडबाडका बेला बढी खपत हुने र सबैलाई आवश्यक पर्ने उपभोग्य सामग्री सस्तोमा उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले जानकारी दिए। उनका अनुसार सुपथ मूल्य पसल एक महिनासम्म सञ्चालन हुनेछ।

बजारको मूल्यभन्दा चिनी, तेल, नुन र साबुन २० प्रतिशत छुटमा सुपथ मूल्य पसलमार्फत् बिक्री वितरण गरिने अध्यक्ष भट्टको भनाइ छ। सुपथ मूल्य पसल गाउँपालिकाका ६ वटै वडा कार्यालयबाट सञ्चालन हुनेछन्। अजयमेरु गाउँपालिकाले हरेक वर्ष दशैं–तिहार लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै आएको छ।

‘दशैं–तिहारको अवसरमा सर्वसाधारणको हितका लागि सुथप मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको हो,’ उनले भने, ‘सुपथ मूल्य पसल गाउँपालिकाका ६ वटै वडा कार्यालयबाट सञ्चालन हुनेछन्।’

सुथप मूल्य पसलबाट सामान खरिद गर्नका लागि एक परिवारले ८६० रुपैयाँ जम्मा गर्नु पर्ने अध्यक्ष भट्टले जानकारी दिए। ८६० रुपैयाँमा ५ किलो चिनी, एक लिटर तेल, एक किलो आयोडिन नुन, ९ वटा लुगा धुने साबुन र ५ वटा नुहाउने साबुन खरिद गर्न पाइने छ। सामाग्री खरिद गर्दा नगद जम्मा गर्नुपर्ने र एक परिवारले एकपटक मात्रै खरिद गर्न पाउने अध्यक्ष भट्टले बताए।

गाउँपालिकाले जारी गरेको सूचना :

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।