Radio Unity 92.2MHz

बाढीपहिरोले आलितालका विभिन्न ठाउँमा क्षति, अवलोकनमा जनप्रतिनिधि

डडेल्धुराः अविरल वर्षापछि आएको बाढीपहिरोले डडेल्धुराको आलिताल गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।

पालिका भित्र कहाँ कति क्षति गरेको छ भनेर गाउँपालिकाले विवरण संकलन गरिएको जनाएको छ। बाढीपहिरोले धेरै ठाउँमा क्षति पुर्‍याएको खबर आएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए।

जनप्रतिनिधिहरूले क्षति भएका ठाउँमा पुगेर विपद्का घटनाको अवलोकन गरिरहेका छन्। साथै थप विपद्का घटनाबाट जोगिन रोकथामका लागि नियन्त्रणका लागि पनि पहल भइरहेको अध्यक्ष पार्कीले बताए।

गाउँपालिका अध्यक्ष पार्की र उपाध्यक्ष मैनाकुमारी रावल बोहराले सोमबार आलिताल–७ दुधेखालीमा पहिरोले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गरेका छन्।

जनप्रतिनिधि र प्रहरीको टोलीले स्थलगत अवलोकन गरेको हो। दुधेखालीमा पहिरोले स्थानीय टेकबहादुर घर्तीमगरको घरमा आंशिक क्षति गरेको गाउँपालिका अध्यक्ष पार्कीले बताए।

उनका अनुसार सोही ठाउँका इन्द्रसिंह भण्डारीको पनि गोठ भत्किँदा एक भैंसी मरेको छ भने २ घाइते भएका छन्। भण्डारीको ५ रोपनी जमिनमध्ये अढाइ रोपनी जग्गा पहिरोले लगेको छ। पहिराले दूधेखालीकै करन सार्कीको धानखेतीमा क्षति गरेको छ।

अध्यक्ष पार्कीले बाढीपहिरोले पूर्वरूपमा घर, गोठ भत्किएका तथा गाइवस्तु मरेका परिवारलाई गाउँपालिकाले केही राहत उपलब्ध गराउने पनि बताए। त्यसका लागि असोज २ गते बसेको गाउँ कार्यपालिका बैठकले राहत उपलब्ध गराउने निर्णय गरिसकेको उनको भनाइ छ।

सम्बन्धित पाेष्टहरु
Loading...