Radio Unity 92.2MHz

डडेल्धुरामा डेंगी नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान

  • शेर भण्डारी

डडेल्धुराः पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगीका बिरामी बढ्दै गएपछि डडेल्धुरामा डेंगी नियन्त्रणका लागि  ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा मंगलबारदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको हो।

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको जिल्ला स्वास्थ्य कार्यालयका डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले बताए।

अभियानका क्रममा पानी जम्ने बस्तु हटाइएको उनको भनाइ छ। उनकाअनुसार डडेल्धुरामा रहेका ३० जना डेंगी संक्रमित बिरामी मध्ये १६ जना अमरगढी नगरपालिकामा छन्।

डेंगी नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएको प्रमुख साउँदले बताए।

विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा लामखुट्टे फूल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगीको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो। उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगीका लक्षण हुन्।

जटिल प्रकृतिको डेंगीको संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन्।

अभियानमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्ट, जनप्रतिनिधि, डडेल्धुरा अस्पतालका मेसु डाक्टर चेतराज भट्ट, स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी र पत्रकारलगाएतको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...